सुदूरपश्चिममा छैन सरकारी सर्पदंश उपचार केन्द्र

0
Shares

विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेश भरीमा सर्पले डसेका विरामीका लागि उपचार गर्ने सर्पदंश उपचार केन्द्र नहुँदा वर्षेनी यहाँका स्थानियले अकालमै ज्यान गुमाउन थालेका छन् । यहाँका अस्पतालहरुमा सर्पदंशका बिरामीका लागि आवस्य पर्ने एण्टीस्नेक भेनम नभएका कारण उपचार हुँन नपाउदा बिरामीको मृत्यू हुन थालेको हो ।

सरकारले सरकारी स्तरबाट नै सर्पदंश उपचार केन्द्र नखोलेका कारण यहाँ दिनानु दिन समस्या उत्पन्न थालेको स्थानियको आरोप छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार गतवर्ष मात्रै सुदूरपश्चिम भरीमा सर्प दंशका कारण ४३ जनाको मृत्यू भएको छ । समयमै अस्पताल ल्याउन नसक्दा तथा अस्पताल ल्याईएका बिरामीहरुले तत्काल औषधी नपाउदा उनिहरुको मृत्यू भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तत्थ्यांङ्कमा उल्लेख गरिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार यो अर्थिक वर्षमा मात्रै कैलाली,बझाङ,अछाम तथा डोटीमा गरी ५ जनाको बिसालु सर्पले टोकेका कारण ज्यान गईसकेको छ । जिल्ला अस्पतालले निःशुल्क रुपमा बितरण गर्ने एण्टीस्नेक भेनम राखिएका यहाँका कतिपए अस्पतालहरुमा पनि उपचार सेवा भरपर्दो नभएको शिखर नगरपालिका वडान. २ कालागाढका स्थानिय रामबहादुर कार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्पेसल रुपमा सर्पदंशको उपचार केन्द्र छैन,केही अस्पतालमा औषधी भएपनि सो विषयमा दक्ष चिकित्सक नहुँदा बिरामीले ज्यान गुमाउन थालेका छन् ।” गर्मियामको समयमा सुदूरपश्चिम भरीमा दजर्नौ सर्पदंशका बिरामी आउने गरेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायलले जनाएको छ । जसमा आधा जति सर्पदंशका बिरामीको ज्यान जाने गरेको सो निर्देशनालयको तत्थ्यांङ्कमा उल्लेख गरिएको छ । सुदूरपश्चिम प्रदेशमा सर्पदंशका बिरामीको उपचार केन्द्र नभएका कारण यहाँका सर्पदंशका बिरामीहरु उपचारका लागि छिमेकी जिल्ला बाँके तथा भारतका बिभिन्न शहरमा धाउन बाध्य भएको स्थानियवासीहरु बताउछन् ।

प्रदेश सरकारले सुदूरपश्चिमका सर्पदंश उपचार केन्द्र राख्ने चासो नदिएका कारण यहाँका स्थानियको अकालमै ज्यान जानथालेको स्थानियको आरोप छ । सरकारी स्तरबाट सर्पदंशको उपचार केन्द्र नभएपनि नेपाली सेनाको सुदूरपश्चिम पृतना माहतहतको कैलालीको बडैपुरमा रहेको कालीरक्षा गण तथा श्री न. २५ बाहिनी अन्तरगतको कञ्चनपुरको अर्जुनीमा देबीदल गणले सर्पदंश उपचार केन्द्र खोलेको छ । कालीरक्षा गणले खोलेको सर्पदंश उपचार केन्द्रमा स्थापना कालदेखी हाल सम्म ५४५ जनाको उपचार गरिएको सो गणका गणपती तथा प्रमुख सेनानी सुरेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार वि.सं २०७२ सालमा स्थापना भएको उक्त उपचार केन्द्रमा बिंस २०७३ मा ३ महिला,७० पूरुष गरी १७३ जना,वि.सं २०७४ मा ९९ महिला, ६१ पूरुष गरी जम्मा १६० जना, वि.सं २०७५ सालमा ९६ महिला,७४ पूरुष गरी जम्मा १७० जनाको उपचार भएको छ ।

त्यस्तै वि.सं २०७६ साल असार १९ गते सम्म २७ महिला, पूरुष १५ गरी जम्मा ४२ जनाको उपचार गरिएको छ । त्यस्तै अर्जुनीमा देबीदलगणले खोलेको सर्पदंश उपचार केन्द्रमा यो असार महिनामा मात्रै ६३ जनाको उपचार गरिएको सो गणका गणपती तथा प्रमुख सेनानी राजु बस्नेतले बताउनुभयो । “सर्पदंशका बिरामी दिनहुँ बढीरहेका छन् हामी संङ्ग दक्ष प्राबिधिक र उपकरणपनि छ तर प्रचार प्रसार नभएर बिरामी भारत जादैछन्,” उहाँले भन्नुभयो, “सर्पले डसेपछि नआत्तिनोस,सिधै हाम्रो उपचार केन्द्रमा आउनुस हामी निको पाछौँ ।” उक्त सर्पदंश उपचार केन्द्र वि.सं. २०७३ सालदेखि नेपाली सेनाले सञ्चालन गर्दै आएको छ ।

यहाँका पहाडी क्षेत्रमा सर्पले डसेका बिरामी समयमै सेनो खोलेका सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसकिदा बिरामीको ज्यान जान थालेको छ । यहाँको तराई क्षेत्रमा गोमन र करेत जस्ता अति विषालु सर्पको विगविगी हुने गरेको छ भने पहाडी भेगमा हरेउ र गुर्वे लगायतका विषालु सर्पले सर्वसाधारणलाई डस्ने गरेको छ । विषालु सर्पले डसेपछि बेलैमा उपचार केन्द्र नलगेमा विरामी मृत्युको मुखमा पुग्ने गरेको शैलैश्वरी अस्पताल दिपायलका डाक्टर ललित लिम्बु बताउनुभयो ।

गर्मी याममा प्राय सडकमा हिँड्दा, खेतबारीमा काम गर्दा, सुतेका बेला र दिसापिसाब गएका बेला सर्पले डस्ने गरेको स्थानियबासीहरु बताउछन् । विषालु सर्पले डसेका विरामीले ढिलो उपचार पाएमा पनि सर्पले डसेको अङ्ग काम नलाग्ने गरी जोखिम हुने गरेको चिकित्सकहरु बताउँछन् ।

उता सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयका सूचना अधिकारी तथा उप सचिब झंकरबहादुर विष्टले सुदूरपश्चिममा सर्पदंशको सरकारी उपचार केन्द्र नभएर स्थानियको अकालमै ज्यान जानथालेको कुरालाई ध्यानमा राखेर मन्त्रालयले सर्पदंश उचार केन्द्र खोल्ने निर्णय गरी सकेको बताउनुभयो । उहाँले भन्नुभयो, “कैलालीको सेती अञ्चाल अस्पतालमा सर्पदंश उपचार केन्द्र खोल्ने भन्ने निर्णय भएको छ, सोही अनुरुपमा हामी चाडैनै उपचार केन्द्र खोल्ने तयारीमा छौँ ।”