केशरमान श्रेष्ठ,
‘एउटा असल गुरुले प्रेरणा दिन्छ’ शिक्षा क्षेत्रमा चलेको एउटा चर्तित वाणी हो यो। तर नेपालमा अभ्यास भइरेहका शिक्षा प्रणालीले त्यस्तो शिक्षक खोज्न गाह्रो बनाइदिएको छ।
एसईई फलामे ढोका अब पातलो भइसकेको छ। यद्यपि यसको महत्व अझै खस्केको छैन। वर्तमान शिक्षा प्रणालीले ११–१२ कक्षाको गुणस्तरीय शिक्षालाई विशेष महत्व दिन थालेको छ।
यो स्तर पार गरेर आएका विद्यार्थीमा ११ र १२ कक्षाको शिक्षा हासिल गर्ने उत्साह र उमंगमा भने कुनै कमी आएको देखिँदैन। यही उत्साह र उमंगसंँगै माध्यमिक शिक्षाको अन्तिम खुड्किलोमा टेक्न विद्यार्थी आफैं सक्रिय भएर लागिरहेका हुन्छन्।
केही विद्यार्थी आफूले चाहेको अर्थात् इच्छाएको विद्यालयमा पढ्न त्यहाँ हुने प्रवेश परीक्षाका तयारीका लागि ब्रिज कोर्स पूरा गरिसकेका होलान्। आफूले चाहेको विद्यालयमा पढ्न पाउनु निश्चितरूपमा राम्रो कुरा हो। तर, विद्यालय मात्र आफंैमा पूर्ण होइन। यसमा ती विद्यालयको प्रदर्शनमा आफ्नो भावी लक्ष्यको क्षितिज खुलेको हुनुपर्नेछ।
सबै क्षेत्रमा अस्तव्यस्त नेपालको शिक्षा क्षेत्र पनि अछुत छैन। यस परिप्रेक्ष्यमा विद्यार्थीका लागि सही विद्यालयको चयन अत्यन्त कठिनको विषय हुनु पनि स्वाभाविक हो। सामान्यतया नेपालमा सञ्चालनमा रहेका विद्यालयमा हामी तीन प्रकारको पाउँछौं।
पहिलो पाँचतारे होटलको जस्ता सुविधा दिएर सम्भ्रान्त परिवारका विद्यार्थीलाई उच्च शुल्कमा शिक्षा दिने विद्यालय। यस प्रकारको विद्यालय मध्यम तथा निम्नवर्गका विद्यार्थीको पहुँचभन्दा बाहिर हुन्छ। प्रायः विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएको वा त्यस्ता शैक्षिक संस्थाहरूमा आबद्ध हुने भएकाले यहाँको उत्पादन प्रायः विदेश पलायनमै उद्यत हुन्छन् वा उनीहरू आफैं सिर्जनात्मक उद्यमीका रूपमा उदय हुने गर्छन्। यस प्रकारको विद्यालयमा वातावरण विद्यार्थीमैत्री नै हुने गर्छ।
यद्यपि केही विद्यालयमा भने अनुशासनका नाममा अत्यन्त कडा नै हुने गरेका पनि छन्। उच्च शुल्क, विद्यार्थीमैत्रीका कारण उनीहरूमा देखिने एकाध अनुशासन विहिन क्रियाकलाप, उमेरसँगै आउने परिवर्तन आदीका बाबजुद यी विद्यालयमा अध्ययन गर्नेहरूमा इन्टरपे्रनरसिप, आत्मविश्वास, निर्णय गर्ने क्षमता जस्ता अत्यावश्यक सवल पक्षहरू विद्यार्थीले हासिल गर्न सकेको देखिन्छ।
अर्को मध्यमस्तरको विद्यालय नेपालको शिक्षा प्रणालीका लागि बढी सुहाउने देखिन्छ। यी विद्यालय विद्यार्थीमैत्री भन्दा शिक्षा प्रणालीमैत्री बढी देखिन्छ। विद्यालयले विद्यार्थीको गुणस्तरका लागि परीक्षाको उत्तर पुस्तिकामा कति लेख्नुपर्छ भन्नेमा शैक्षिक क्रियाकलापलाई केन्द्रित गरेका हुन्छन्।
उनीहरू के र कसरी लेख्नुपर्छ भन्नेमा कमै मात्र ध्यान दिन्छन्। यसका लागि विद्यालयको वातावरण विद्यार्थीमैत्रीलाई जति न्यून गर्न सकिन्छ त्यति उनीहरू सफल मानिन्छ। नेपालमा यी विद्यालय विद्यार्थीको भन्दा पनि धेरैजसो अविभावककै छनोटमा पर्ने गरेको छ। यी विद्यालयको शुल्क पनि कडाइको मानकअनुरूप नै भएको पाइन्छ र बोर्डको नतिजामा पनि यी विद्यालयको स्थान राम्रो नै हुने गरेको देखिन्छ। यो उनीहरूका लागि आकर्षणको पक्ष पनि बनेको छ। यी विद्यालयको सम्पूर्ण सैक्षिक गतिविधि अत्यन्तै औपचारिक हुने गर्छ। कडा (डीआई)को व्यवस्था यी विद्यालयको विशेषता हो।
यो स्तरको विद्यालयले आफ्नो ख्याती कडा वातावरणकै नाममा कमाइरहेका हुन्छन्।
यी दुईबाहेक अर्कोमा संघर्षरत अवस्थाका विद्यालय पर्छन्। यिनीहरू पर्याप्त विद्यार्थी संकलन र त्यसबाट विद्यालयको आर्थिक स्तर वृद्धिका लागि उद्यत रहेका हुन्छन्।
विद्यार्थीको ठूलै समूह यी विद्यालयमा आकर्षित भइरहेका देखिन्छन्। यसमा पढाइ शुल्क सहमतिमा तय हुन सक्ने भएकाले यो विद्यार्थीका लागि प्लस प्वाइन्ट हो। परीक्षा प्रणालीलाई ध्यानमा राखी त्यसका लागि विद्यार्थी तयार गर्ने योजना नै यी विद्यालयको एक मात्र योजना हुने गर्छ। यद्यपि अव्यवस्थित कडा अनुशासन, विद्यार्थी अमैत्री वातावरण, व्यवस्थापनबाट शिक्षकमाथि हुने शोषण, शिक्षकहरू फेरिने समस्याबाट विद्यालय ग्रसित देखिन्छ।
यीमध्ये कुनै पनि विद्यालय एक मेधावी तथा लगनशील विद्यार्थीका लागि शिक्षा हासिल गर्न उपयुक्त हुन सक्छ। तर, कतिपय अवस्थामा स्थान, पारवहन सुविधा, सामाजिक परिवेश जस्ता पक्षले पनि विद्यालय चयनमा असर पारिरहेको हुन्छ। यद्यपि उचित विद्यालयको चयन उच्च शिक्षा हासिल गरि अगाडि बढ्ने दिशामा पहिलो र सम्भवतः अन्तिम निर्णय बन्न सक्छ।
वास्तवमा एसईईलाई फलामे ढोका भनिए पनि क्यारियर निर्माणको दृष्टिकोणले ११–१२ माध्यमिक शिक्षाको भूमिका नै निर्णायक हुने गर्दछ। यो शैक्षिकस्तरले नै विद्यार्थीको भावी गन्तव्य तथा लक्ष्य निर्धारण हुन्छ। एसईईको पढाइलाई ठूलो उपलब्धि ठानेर उच्च माध्यमिक शिक्षाको पढाइमा खेलाँची गर्ने विद्यार्थी लक्ष्यविहीन बन्न पुगेको धेरै उदाहरण हाम्रा वरपर छन्।
यसमा उच्च माध्यामिक शिक्षा पढ्न योग्य हुनुमा ठूलो गौरब महसुस गरिरहेका विद्यार्थीको मात्र नभई उनीहरूले अध्ययनका लागि चयन गरेको विद्यालयको शैक्षिक वातावरण पनि त्यतिकै जिम्मेवार हुन्छ। त्यस अर्थमा पनि विद्यालयको छनोटमा विद्यार्थी तथा अभिभावक चनाखो हुनुपर्ने अपरिहार्य देखिन्छ। यस अर्थमा पढ्ने विद्यार्थीकै लागि पनि विद्यालयको चयनले महत्व राख्छ। उचित विद्यालय चयन विद्यार्थीको व्यक्तित्व निर्माणका लागि सबैभन्दा अहम् विषय हो।
विद्यालय आफैंमा शिक्षा हासिल गर्ने माध्यम मात्र हो, साध्य होइन। सिक्ने काम विद्यार्थी आफैंको हो। कसैले कसैलाई सिकाउन सक्छ भन्नु भ्रम मात्र हो। तर, विद्यार्थीको सिक्ने क्षमतालाई शिक्षक, विद्यालय, अभिभावक र उसका साथीहरूसँग संगत्को वातावरणले निश्चितरूपमा अहम् भूमिका खेलेको हुन्छ। यसमा कुनै विवाद छैन, विद्यालय चयनमा विद्यार्थीको पहिलो प्राथमिकता राम्रा नतिजाका लागि चर्चामा रहेका उत्कृष्ट विद्यालय हुन सक्छ।
शिक्षणको यो संवेदना सायदै मात्र विद्यार्थीमा आउन सक्ने भएकाले गलत विद्यालयको चयन एउटा मेधावी वा मेहनती विद्यार्थीका लागि खतरा बन्न सक्छ। निजीस्तरका विद्यालयले प्रशस्त लगानी गरेर शिक्षाको बजारमा नतिजामुखी छवि देखाउँदै एकाधिकार कायम गर्ने अभ्यास भइरहेको छ भने अर्कोतिर प्रायः यस्ता निजी विद्यालयमा विद्यार्थी भरिभराउ भएपछि मात्र आर्थिकरूपमा विपन्न वा पढाइप्रतिको संवेदनशीलतामा कमी भएका विद्यार्थीलाई कुर्नुपर्ने बाध्यतामा छन्, सामुदायिक विद्यालय।
यद्यपि कम शुल्कमा तुलनात्मकरूपमा नतिजा उन्मुख शिक्षा दिने सवालमा कतिपय सामुदायिक विद्यालयको प्रयास अत्यन्तै सराहनीय मान्न सकिन्छ। ती विद्यालयबाट उत्पादन भएका विद्यार्थीको गुुणस्तरले कुनै पनि क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको पाउँछौं।
त्यसैले कुनै पनि विद्यालयको चयन त्यसको रूप पक्षलाई हेरेर गर्नु गलत पनि हुन सक्छ। यसमा स्वयं विद्यार्थी भन्दा अभिभावक आफैं चनाखो र विश्वस्त हुन सक्नुपर्छ, उच्च शिक्षा वास्तविक फलामे ढोका हो।
प्रतिक्रिया