सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


काठमाडौं .
पर्सा, दैलेख र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । पर्सा, वीरगञ्ज महानगरपालिका-१४ स्थित सडकमा ना.७ ख २२३५ नम्बरको बसले बिहीबार बिहान साईकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका साइकलयात्री सोही महानगरपालिका-२४ रामगढवा बस्ने १८ वर्षीय अफ्रोज मियाको घटनास्थलमै मृत्यु भएको छ । बस चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ ।

दैलेख, दुल्लु नगरपालिका-९ लिटिकोटस्थित सडकमा भे.१ त ८४८३ नम्बरको ट्याक्टर बिहीबार बिहान ब्रेकफेल भई सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका टयाक्टरमा सवार चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ बस्ने ५० वर्षीय प्रयाग राम जैसीको दुल्लु अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अर्घाखाँची, सन्धिखर्क नगरपालिका-७ सुपादेउरालीस्थित सडकमा बिहीबार बिहान लु.१ ज १३२९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खोलामा खसेर दुर्घटना हुँदा जिपमा सवार हाल नाम, थर, वतन नखुलेका २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मालारानी-३ गुनाखर्क बस्ने ३७ वर्षीय रुद्र प्रसाद भुषालको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्य ३ जनालाई थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।