लागुऔषध चरेससहित पक्राउ परेका ठगुन्ना सार्वजनिक


किरन धामी, दार्चुला ।
तीन किलो ८ सय ग्राम लागुऔषध चरेससहित बुधबार राती पक्राउ परेका नौगाड गाउँपालिका वडा नम्बर ६ का २४ वर्षिय रमेश सिंह ठगुन्नालाई प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । ठगुन्नालाई नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेकमा रहेको प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बुधबार राती ११ बजे दल्लेक बजारबाट लागु औषध चरेस सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले बताउनु भयो ।

ठगुन्नाले चरेस ओसारपसारमा प्रयोग गरेको रातो नम्बर प्लेटको म १ प २४८४ मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको उहाले बताउनु भयो । नौगाड गाउँपालिकाबाट जिल्ला सदरमुकाम खलंगा ल्याउदै गरेको अवस्थामा ठगुन्नालाई विषेश सुचनाको आधारमा दल्लेक बजारबाट पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक शाहीले जानकारी दिनुभयो ।

लागु औषध चरेस सहित पक्राउ गरिएका ठगुन्ना विरुद्ध दार्चुला जिल्ला अदालतमा ५ दिनको म्याद थप गरी लागु औषध नियन्त्रण ऐन अन्र्तगत मुद्धा चलाइएको उहाले बताउनु भयो । ठगुन्नालाई सोधपुछ भैइरहेको भन्दै उहाले यो कारोवारमा संलग्नलाई समेत पत्ता लगाएर छोड्ने बताउनु भयो । बरामद लागु औषध चरेस नष्ट गरिने उहाले बताउनु भयो । ठगुन्नालाई लागु औषध नियन्त्रण ऐनमा व्यवस्था भए बमोजिम ३ वर्ष सम्म कैद र ५० हजार रुपैया जरिवाना हुन सक्ने प्रहरी नायव उपरिक्षक शाहीले बताउनु भयो ।