नर्सरीबाट वार्षिक ११ लाख आम्दानी


धनवीर दाहाल, रुकुम ।
रोजगारको लागि विभिन्न खाडी मुलुकतिर धाउनुभन्दा आफ्नै ठाँउमा पसिना बगाए आर्थिक उर्पाजन गाउँमै छ भन्ने सन्देश रुकुमका एक युवाले दिएका छन् । रुकुम पश्चिमको सानीभेरी गाँउपालिका सिम्लीका नरेन्द्र भण्डारीले नर्सरीबाट बार्षिक ११ लाख आम्दानी गर्नुका साथै ४ जनालाई रोजगार पनि दिएका छन् ।

भण्डारीले आँप, लिची, अनार , कटहर, हलुवाबेद, कफी, अंगुर, सुन्तला, कागती, मौसम, अलैंची र टिम्मुरको नर्सरीबाट बार्षिक ११ लाख आम्दानी भइरहेको बताउनुभयो । यति मात्र होइन यो नर्सरीमा ४ जना युवाले प्रत्यक्ष रोजगार पाइरहेका छन् । आफुले पनि काम गरिरहेको र ४ जना युवालाई रोजगारी दिन सफल भएको कृषक भण्डारीको भनाई छ ।

उहाँको परिश्रमलाई हेरेर कर्णाली प्रदेश सरकार भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय अन्र्तगतको कृषि ज्ञान केन्द्र रुकुम पश्चिमले थप आर्थिक सहयोग गरेको छ । बिरुवाको माग अत्यधिक बढकोले माग अनुसार पुर्याउन नसकिएको युवा कृषक भण्डारीको भनाई छ । रोजगारको लागी बिभिन्न खाडी मुलुक धाइरहेका युवाहरुका लागी नरेन्द्र भण्डारी जस्ता युवा कृषकले गरेको कामले आफ्नै गाँउमा केही गर्न सके घरछेउमा नै पैंसा कमाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।