समयानुकुल शिक्षाले हरेक क्षेत्रमा अगाडी बढ्न मद्दत गर्छः शैलेन्द्र खनाल

0
Shares

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका ११ मा नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल संचालन गर्ने भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिवार एक कार्यक्रमका बिच उक्त स्कुल भवनको शिलान्यास गर्नुभयो ।

त्यस अवसरमा उहाँले संगठनले शान्ति सुरक्षा एवं सुशासन कायम राख्ने कार्यमा व्यावसायीक कुसलतापुर्वक उत्कृष्ट योगदान पुर्याईरहेको चर्चा गर्दै यसका अतिरिक्त शिक्षाको क्षेत्रमा समेत योगदान पुर्याउने उद्वेश्यले राजधानी बाहिर यस विद्यालय संचालन गर्ने प्रयास गरिएको उल्लेख गर्नुभयो ।

 

सशस्त्र प्रहरी महानिरीक्षक खनालले राजधानी बाहिर यस्ता विद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको शिक्षादिक्षामा योगदान पुर्याउन सकिने बताउदै विद्यालय स्थापना गर्ने कार्यमा सहयोग पुर्याउने सबै प्रति आभार प्रकट गर्नुभयो ।

समयानुकुल शिक्षाले हरेक क्षेत्रमा अगाडी बढ्न मद्दत गर्ने उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालले कुनैपनि बालबालिका शिक्षाबाट बन्चित हुननपर्ने र त्यसका लागि सवैले आ–आफ्नो ठाँउबाट प्रयास गर्नुपर्ने बताउनुभयो ।

‘सुखी नेपाली समृद्व नेपाल‘ निर्माणमा सबैले योगदान पुर्याउनुपर्ने बताउदै महानिरीक्षक खनालले यस स्कुलको संचालनबाट शिक्षाको क्षेत्रमा योगदान पुर्याउन सकिने उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले धन्यवाद ज्ञापनको क्रममा यस बिद्यालयको स्थापना पछि सशस्त्र प्रहरी कर्मचारीका सन्तती एवं सो क्षेत्रका विद्यार्थी वर्गलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सघाउ पुग्ने बताउनुभयो ।

उक्त बिद्यालय सो ठाउँको सम्पतीको रुपमा रहिरहने चर्चा गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो कल्याणकारी योजना बमोजिम विद्यालय संचालनलाई प्राथमिकतामा राखेर सो विद्यालय संचालनको प्रकृया थालेको उल्लेख गर्नुभयो ।

 

यस्तै सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्यालले गुणस्तरीय शिक्षा प्रदान गर्न सो विद्यालयले स्थापना पश्चात अहम भुमीका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले उक्त बिद्यालय परिसरको निर्माण कार्य ५ करोड ६८ लाख ७६ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिने बताउनुभयो । विद्यालय निर्माणका लागी जग्गा प्रदान गर्नुहुने जग्गादाता जोगेन्द्र भगतले समाज कल्याण एवं शैक्षिक क्षेत्र सुधारका लागी आफुले निःशुल्क रुपमा उक्त जग्गा प्रदान गरेको बताउनुभयो ।

सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ११ मा रहेको करिव २५ करोड ६५ लाख रुपैयाँ बराबरको ८ बिगाह ११ कठ्ठा जमिन गत २०७३ साल मंसीर ६ गते जोगेन्द्र भगत तथा ठाकोदेवी भगतले निःशुल्क उपलब्ध गराउनु भएको हो ।
सो ठाउँमा शैक्षिक भवन, प्रधानाध्यापक आवास, गार्ड भवन, पानी ट्याङ्की, सेफ्टी ट्याङ्की, फुटवल ग्राउण्ड, मेनगेट लगायतको स्कुल परिसर आगामी ११ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।