आँपको उत्पादन घट्यो, मुल्य बढ्यो


कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सामा यस बर्ष आँपको उत्पानमा कमी आएपछि सदरमुकाम वीरगन्ज लगायतका जिल्लाका ग्रामीण भेगका बजारहरुमा आँपको मुल्य आकाशिएको छ।

जिल्लामा आँपको उत्पादन गतभन्दा यस बर्ष झण्डै ५० प्रतिशतले गिरावट आएको हो । आँपको उत्पादनमा कमी आएपछि अहिले पर्साको सदरमुकाम वीरगन्ज, पोखरिया बजार, ठोरी, सखुवा प्रसौनी, बहुदरमाई लगायतका मुख्य बजारहरुमा आँपको मुल्य बढेको छ ।

आँपको उत्पादनमा कमी आएपछि वीरगन्ज लगायतका बजारमा आँप प्रतिकिलो रु १ सय ४० रुपैयादेखि २ सय रुपैयासम्म बिक्री हुदै आएको छ।‘बजारमा अहिले आँपको मुल्य पोहोरको भन्दा महँगो भएको स्थानीय उपभोक्ता कुसुम श्रेष्ठले बताइन्।’यसपालि आँपको मुल्य महँगो छ’, श्रेष्ठले भनिन्, ‘किलोमा १ सय ५० सम्ममात्र आँपहरु किन्न पाइन्छ।

’कृषि ज्ञान केन्द्र पर्साका अनुसार जिल्लामा ३ सय २० हेक्टर क्षेत्रफलमा आँपको उत्पादन हुँदै आए पनि यस वर्ष भने २ हजार मेट्रिक टन मात्र आँप उत्पादन भएको हो। गतवर्ष भने जिल्लामा ३ हजार २ सय मेट्रिक टन आँपको उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी श्याम किशोर प्रसादले जानकारी दिनुभयो । गत बर्ष ३ सय २० हेक्टर क्षेत्रफलमा ३ हजार २ सय मेट्रिक टन आँपको उत्पादन भएको तर यस बर्ष भने सोही क्षेत्रफलमा उत्पादनमा कमि आएर २ हजार मेट्रिक टनमात्र आँपको उत्पादन भएको उहाँको भनाइ छ ।

गत बर्षको तुलनामा यस बर्ष झण्डै ४० प्रतिशतले पर्सा जिल्लामा आँपको उत्पादनमा कमि भएकोले बजारमा आँपको मुल्य आकाशिएको र आँप प्रायः एक बर्ष फल्ने अनि अर्को बर्ष नफल्ने गरेको तथा यस पालिको आँपको अफ सिजन भएकाले पनि आँपको उत्पादनमा कमि आएको बिज्ञ श्याम किशोर प्रसादको तर्क छ ।

आँपको उत्पादनमा कमी आउनुको अर्को कारण भने यसपालिका आएको हावाहुरी पनि रहेको उहाँको भनाइ छ। उनले यसपालि अफ सिजन भएको भए पनि आँपहरु फलेको तर,हावाहुरीका कारण त्यसमा पनि क्षति पुगेकोले आँपको उत्पादनमा कमी आएको हो । आँपको लागि पकेट क्षेत्र मानिने पर्साको निर्मलबस्ती, सखुवा प्रसौनी,बिरुवागुठी,बागबाना,गादी लगायतका पकेट क्षेत्रमा आँपको ब्यावसायिक उत्पादन हुँदै आएको छ ।