अझैसम्म ४७ स्थानमा पद खाली, निर्वाचन आयोगले थाल्यो उपनिर्वाचनको तयारी


काठमाडौं । निर्वाचन आयोगले २०७४ सालमा सम्पन्न निर्वाचनमा रिक्त रहेका ४७ स्थानमा उपनिर्वाचनका लागि तयारी शुरू गरेको छ । उक्त निर्वाचनमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमध्ये ४७ स्थानको पद अझै रिक्त भएकाले तयारी थालेको आयोगले बिहीवार विज्ञप्ति जारी गरि जानकारी दिएको हो ।

प्रतिनिधिसभा सदस्य १, प्रदेश सभा सदस्य ३, स्थानीय तहअन्तर्गत गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष ४, नगरपालिकाका प्रमुख १ र नगरपालिका तथा गाउँपालिकाका वडा अध्यक्ष ३८ गरी कूल ४७ पदहरू हालसम्म रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ ।

रिक्त रहेका स्थानमा मतदाता नामावलीमा नाम लेखाउन योग्यता पुगेका तर नाम नभएकाहरुलाई मतदाता नामावलीमा नाम लेखाउन आयोगले आग्रह गरेको प्रवक्ता शंकरप्रसाद खरेलले बताए ।

नेपाल सरकारको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक नीति तथा कार्यक्रममा यसै आवमा उपनिर्वाचनका कामहरू सम्पन्न गरिनेछ भनी उल्लेख छ । प्रचलित कानुन बमोजिम उपनिर्वाचन गर्न आयोगले आवश्यक आन्तरिक तयारीको कार्य गरिरहेको छ ।