मानव अतिक्रमणमा गौंथली र चमेरा


कविराज नेपाल, पाल्पा
मानिस जीवजन्तु सबैलाई वासस्थानको खाँचो पर्छ तर वासस्थान नै संकट परेपछि स्वाभाविकै हो अस्तित्व संकटमा पर्छ । पाल्पाको हकमा पनि यस्तै भएको छ । गौथली र चमेराको वासस्थानमा मानव अतिक्रमण बढेपछि यसको अस्तित्वमा संकट आउन थालेको हो ।

मुखको चुच्चोमा माटो बोकेर घरका दलिन र कापहरुमा गुँड बनाउने र चिरबिर चिरबिर आवाज निकालेर मनलाई पुलकित बनाउने गौंथली आजभोलि बिरलै देखिन्छन् । पुराना घरहरु काठद्वारा बनाइने र गुँड बनाउन मिल्ने भए पनि आजभोलि सिमेन्टको चलन बढेकाले यसको अस्तित्व संकटमा परेको हो ।

केही वर्ष पहिलेसम्म रुखभरि झुन्डका झुन्ड देखिने स्तनधारी पक्षी चमेरो पनि यहाँ आजभोलि बिरलै देखिन थालको छ । मानव अतिक्रमण र वाससथनमा संकट देखिएपछि चमेरा संकटमा परेको हो ।

पाल्पा सदरमुकाम तानसेनको अमरनारायण फूलबारी, मदनपोखराको दमकडा, अर्गलीको देउराली क्षेत्र, राम्दी, रामपुरलगायतका ठाउँमा रहेका ठूलाठूला रुखमा यो पंक्षीले आश्रय लिने गरेकोमा रुख कटानी, मानव अतिक्रमण र बिजुलीका कारण करेन्ट लागेर मर्न थालेपछि यसको अस्तित्वमा संकट आएको जानकारवाला बताउँछन् ।

यसको संख्या घट्दै गए पनि संरक्षणमा कोही कसैले ध्यान दिएको पाइँदैन । स्थानीय वासिन्दा कुनै बेला रुखैभरि कटहर झुन्डिएजस्तै गरी अमरनारायण फूलबारीमा चमेरा रहेकोमा अहिले मुस्किलले २० देखि ३० को संख्यामा रहेको बताउँछन् । तानसेनका स्थानीय पुष्करराज रेग्मी आफूहरुले सानोमा खेल्दा फूलबारीवरिपरि सयौंको संख्यामा चमेराको बथान देख्ने गरेकोमा अहिले यो अवस्था आउनुमा मानव अतिक्रमण भएको बताउनुहुन्छ । उहाँका अनुसार यो बाहेक फूलबारीवरिपरिको क्षेत्र पनि प्रदूषित बनेको, मुहान वरिपरि फोहोर बढेको हुँदा यसको अस्तित्व नै केही वर्षमा रहने हो वा होइन भन्नेमा शंका रहेको बताउनुहुन्छ ।

त्यसैगरी सोही क्षेत्रका बासिन्दा श्रीधर नेपालको भनाइमा चमेराको अस्तित्व रक्षाका लागि रुखको विनाश रोक्नुपर्ने, खास गरी स्थानीय बासिन्दा एवं नगरपालिकाले चासो देखाउनुपर्ने हो तर त्यसो भएको पाइँदैन । हुन पनि यस पंक्षीका कारण यस क्षेत्रको प्रसिद्धि नै बढेको थियो । काष्ठकलाको अनुपम नमुना अमरनारायण मन्दिर हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु झुन्डका झुन्ड रहेको चमेरा हेरेर रमाउँथे, अझ विदेशी त रुखको टुप्पोतिर क्यामेरा सोभm्याएर भन्थे ‘हाउ ब्युटिफुल’ तर अहिले भने यो अवस्था छैन । स्थानीय राजेन्द्रगोपाल सिंहले भन्नुभयो– ‘चमेरा अस्तित्वका लागि छन् त छन् तर निकै कम संख्यामा ।’

त्यस्तै अर्गलीमा पनि यस्तै अवस्था रहेको स्थानीय श्रीधर भट्टराईले बताउनुभयो । ‘पहिलेपहिले धेरै चमेरा देखिन्थे तर आजभोलि १–२ वटा मात्र छन्’ –उहाले भन्नुभयो । यो सबै बिजुलीका पोल र मानव जनसंख्या बढेका कारण हो ।
कतिपय विज्ञहरु चमेरा रुख कटानका कारण लोप हुन लागेको बताउँछन् भने भँगेराहरु भने मोबाइल टावरबाट निस्कने तरंगका कारण पनि लोप हुन पुगेका हुन् ।

यसवाहेक मानव बस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावका कारण विस्तारै वासस्थान परिवर्तन गरी हराउन थालेका हुन् । विगतमा गौंथली मारेमा पाप लाग्ने धार्मिक विश्वास भए पनि आजभोलि केही ठाउँहरुमा गुलेलीले हानेर केटाकेटीले मार्ने गरेका कारण पनि यसको अस्तित्व संकटमा परेको बताइन्छ ।