जेष्ठ नागरिकलाई परिचय–पत्र वितरण


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले पहिलो पटक जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक परिचय पत्र बितरण गरेको छ । यस अघि जिल्लाबाट बितरण गरिदै आएको जेष्ठ नागरिक परिचय पत्र स्थानीय तहले बितरण गर्न पाउने कानुनी अधिकार प्राप्त पछि नगरपालिकाले पहिलो पटक जेष्ठ नागरिकहरुलाई परिचय पत्र वितरण गरेको हो ।

नगर प्रमुख देबीलाल गौतमले मुसीकोट नगरपालिका वडा नम्बर १ का ८६ बर्षिय धनबहादुर रावललाई पहिलो पटक जेष्ठ नागरिक परिचय पत्र प्रदान गरि औपचारिक रुपमा जेष्ठ नागरिक परिचय पत्र बितरण कार्यक्रमको उद्घाटन गर्नु भएको हो । अबदेखी सार्वजनिक विदा र शनिवारको दिन बाहेक अन्य हरेक दिन कार्यालय समयमा जेष्ठ नागरिक परिचय पत्र लिन आएमा नगरभित्र रहेका ६० वर्ष उमेर पुगेका सबै जेष्ठ नागरिकलाई परिचय पत्र वितरण गरिने नगरपालिका अन्तरगत महिला, बालबालिका तथा समाज कल्याण शाखाकी महिला विकास निरिक्षक कमला मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार जेष्ठ नागरिक आफ्नो उमेर खुल्ने कागजात लिएर स्वयं उपस्थीत भएमा वा उसको नजिकको नातेदार वडाको सिफरिस लिएर आएमा परिचय पत्र प्रदान गर्न सकिने छ । पहिलो दिन मंगलबार ५ जना जेष्ठ नागरिकलाई परिचय पत्र बितरण गरिएको नगरपालिकाले जनाएको छ ।