रुकुम पूर्वमा भुमिहिनले पाए लालपुर्जा

0
Shares

धनवीर दाहाल, रुकुम ।
सरकारले भुमिहिनलाई लालपुर्जा प्रदान गरेको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले चार जना भुमिहिन सिमान्तकृत बादी परीवारलाइ लालपुर्जा वितरण गरेपछि भुमिहिन भएकाहरु खुसी भएका छन् । वडा नम्बर ४ को कोलडाँडा स्थित ऐलानी जग्गामा त्रिपाल टागेर बसिरहेका बादी परिवारलाई सिस्ने गाउँपालिकाले लालपुर्जा वितरण गरेको हो ।

गाउँपालिकाले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत ११ लाख ७० हजार बराबरको जग्गा खरिद गरी लालपुर्जा बितरण गरिएको छ । सिस्ने ६ को बदालेबोट स्थित ११ सय ७० वर्गमिटर जग्गाको लालपुर्जा हस्तान्त्रण गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयो । लालपुर्जा पाउनेहरुमा चामसिङ बादी, लालबहादुर बादी, कालि बादी र मेवालाल बादी रहनुभएको छ । उहाँहरुले प्रतिव्यक्ति लगभग रु तीन लाख बराबरको जग्गा प्राप्त गर्नुभएको हो । चामसीङ र लालबहादुरलाई दुई सय ९३ वर्गमिटर कालि र मेवालाललाई दुई सय ९२ वर्गमिटर जग्गा भाग परेको छ ।

यो भन्दा अगाडि सानिभेरीमा माछा मार्दै, अर्काको काम गर्दै र दाउरा बेच्दै जिवन निर्वाह गरिरहेका बादी परिवारले लालपुर्जा पाएपछि खुसी व्यक्त गरेका छन् । मेवालालले भन्नुभयो, ‘स्थानीय सरकारले जग्गा उपलब्ध गराइदिएको छ, अब त्यसमा हामी आफ्नो जिवन खोज्ने छौ ।’ जिल्लामा लोपोन्मुख तथा भुमिहिन नागरिक अरु पनि रहेको र सबैलाइ एकै पटक हेर्न नसकिने बताउदै गाउँपालिका अध्यक्ष बरालले विस्तारै सबैलाई अन्य वर्षहरुमा व्यवस्थापन गर्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जनता आवास कार्यक्रम अन्तर्गत लालपुर्जा विवतरण गरिएका ४ जनाको घर निर्माण पनि गरिदिने छौ ।’

कृषिको लागि उपयुक्त क्षेत्र छनोट गरी जग्गा उपलब्ध गराएको उहाँको भनाइ छ । गरिविको रेखामुनी रहेका नागरिकको जिवनस्तर सुधार गरी गरिवि निवारण गर्ने उदेश्यले सञ्चालित मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत ४ जना बादी समुदायलाई जग्गा हस्तान्त्रण गरीएको र आगामी वर्ष एकिकृत वस्ति निर्माण गरिदिने उदेश्य रहेको मुख्यमन्त्री ग्रामिन विकास कार्यक्रम जिल्ला संयोजक लिलामणी गौतमले बताउनुभयो ।