नमस्ते राप्तीका ३५ गाडी पुरानै समितिमा फर्किए


दाङ ।
नमस्ते राप्ती यातायात प्रालिका पदाधिकारीसहित ३० व्यवसायी सो प्रालि छाडेर राप्ती सार्वजनिक यातायात व्यवसायी समितिमा फर्किएका छन् । नमस्ते राप्ती प्रालिका उपाध्यक्ष ओमकार बोहरा, सचिव मुर्ति प्रसाद गौतम(शिवहरी), सदस्यहरु धन वहादुर वली र महेन्द्र खड्गी लगायत ३० जना व्यवसायीहरु सो प्रालि छाडेर राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिमा फर्किएका हुन् ।

उनीहरुले व्यवसायीक सुरुक्षाका लागि राप्ती सार्वजनिक यातायात व्यवसायीमा आवद्ध हुनुको उपयुक्त विकल्प अन्य नभएकाले आफुहरुले नमस्ते प्रालि छाडेको अभिव्यक्ति दिए ।

उनीहरु राप्ती समितिमा आएसंगै नमस्ते राप्तीको दाङ होलेरी र दाङ—सल्यान रुकुम रुट कोल्याप्स भएका छन् । उनीहरुलाई राप्ती समितिले आइतवार स्वागत समेत गरेको छ । हाल राप्ती अञ्चल सार्वजनिक समिति रहेपनि साउन १ गते देखि सो समिति पनि प्रालिमा विधिवत रुपमा रुपान्तरित हुनेछ । समितिले साउन १ देखि नयाँ लोगो समेत प्रालिका नाममा सञ्चालनमा ल्याउने समितिका अध्यक्ष सुरेश हमालले बताए ।