९ लाख व्यापारिक प्रतिष्ठानमध्ये आधा बिना दर्ता सञ्चालन


दीपेन्द्र थापा, काठमाडौं
नेपालभर ९ लाख २३ हजार व्यापारिक प्रतिष्ठान रहेको राष्ट्रिय आर्थिक गणना फेला परेको छ । केन्द्रीय तथ्यांक विभागले प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गर्दै सो तथ्याङक सार्वजनिक गरेको हो ।

सरकारले ‘दिगो आर्थिक विकासको आधारका लागि आर्थिक गणना’ भन्ने नाराका साथ गणना शुरु गरिएको थियो । मुलुकभर रहेका अर्थतन्त्रस“ग सम्बन्धित प्रतिष्ठान तथा व्यवसायको व्यावसायिक क्रियाकलाप सम्बन्धी वर्तमान अवस्थाका बारेमा विभागले तथ्यांक संकलन गरेको थियो ।

विभागले २०७५ वैशाख १ गतेदेखि सर्वेक्षण शुरु गरेर २०७६ जेठ मसान्तसम्म मुलुकभरका विभिन्न औद्योगिक प्रतिष्ठान, साना व्यवसाय तथा त्यसमा आवद्ध जनशक्तिका बारेमा अध्ययन अध्ययन गरेको हो। विभागका अनुसार ९ लाख २३ हजार ३ सय ५६ वटा प्रतिष्ठान सञ्चालनमा रहेका छन्। जसमध्ये ४ लाख ६२ हजार ६ सय ५ वटा प्रतिष्ठान अर्थात कुल संख्याको ५० दशमलव १ प्रतिशत र दर्ता नभएका ४ लाख ६० हजार ४ सय २२ वटा प्रतिष्ठान अर्थात कुल संख्याको ४९ दशमलव ९ प्रतिशत संस्था कुनै पनि सरकारी निकायमा दर्ता नभएरै सञ्चालनमा रहेको विभागले सावर्जनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ ।

प्रतिष्ठानमा सक्रियरुपमा संलग्न जनशक्तिको अर्थात रोजगारी पाएको संख्या ३२ लाख २८ हजार ४ सय ५७ रहेकोमा २० लाख १२ हजार २ सय ३७ पुरुष (६२.३ प्रतिशत) र महिला १२ लाख १६ हजार २ सय २० (३७.७ प्रतिशत) महिला रहेका सावर्जनिक गरीएको तथ्यांकमा भनिएको छ । प्रतिप्रतिष्ठान रोजगारी पाएको संख्या भने साढे ३ दशमलव ५ जना रहेको विभागको भनाइ छ ।

आर्थिक गतिविधिको तथ्यांक राख्ने लक्ष्यका साथ शुरु गरिएको प्रथम राष्ट्रिय आर्थिक गणनाअनुसार सबैभन्दा बढी व्यापारिक प्रतिष्ठान ३ नम्बर प्रदेशमा रहेको विभागले जनाएको थियो ।

विभागका अनुसार ३ नम्बर प्रदेशमा सबैभन्दा बढी २ लाख ८२ हजार ५६ प्रतिष्ठान रहेका छन् । थोक तथा खुद्रा व्यापार क्षेत्रमा सबै भन्दा धेरै प्रतिष्ठान सञ्चालनमा रहेका छन्। थोक तथा व्यापार क्षेत्रमा ४ लाख ९८ हजार ६९ प्रतिष्ठान अर्थात कुल संख्याको ५३ दशमलव ९४ प्रतिशतर रहेको र त्यसमा आबद्ध रोजगारी संख्या ९ लाख ८८ हजार ३ सय ४६ जना छन। जुन कुल संख्याको ३० दशमलव ६५ प्रतिशत बराबर हो ।

पुरुष व्यवस्थापकले सञ्चालन गरेका प्रतिष्ठानको संख्या ६ लाख ४८ हजार ७ सय ७३ अर्थात ७० दशमलव २६ प्रतिशत रहेको छ भने महिला व्यवस्थापकले सञ्चालन गरेका प्रतिष्ठानको संख्या २ लाख ७३ हजार ४ सय ३६ अर्थात २९ दशमलव ३१ प्रतिशत रहेको छ। सबैभन्दा कम कर्णाली प्रदेशमा ४३ हजार आर्थिक प्रतिष्ठान सञ्चालन भइरहेका छन्। तथ्यांक विभागले विभिन्न २१ वटा विषयवस्तुलाई आधार मानेर तथ्यांक संकलन गरेको जनाएको छ। बढीभन्दा काठमाडौं जिल्लामा १ लाख २३ हजार ९ सय ९४ र कम मनाङ सबैभन्दा कम ४ सय ८७ व्यापारिक प्रतिष्ठान रहेको छ ।

३ हजार ५ सय आर्थिक गणक खटाएर विभागले जेष्ठ ३१ गतेसम्म संकलन गरेको थियो । यसरी संकलन गरिने आर्थिक विवरणका लागि विभागले करिब ४० करोड रुपिया“को बजेट खर्च भएको अनुमान छ। आर्थिक गणनामा मुलकको आर्थिक गतिविधिस“ग सम्वन्ध राख्ने जस्तै बैङक,वित्तीय,बिमासम्वन्धी कारोवार थोक तथा खुद्रा व्यापर, कृषि, वन, आपूर्ति व्यवस्थापन, शिक्षा, स्वास्थ्य, यातायात, आवस, औद्योगिक उत्पादन, पेसा गत क्रियाकलाप,मर्मत सम्भार, उत्पादन तथा प्रशोधन क्रियाकलाप,मानवीय आर्थिक उपार्जनका लागि गरिने क्रियाकलाप कला मनोरञ्जनलगायतकमा आर्थिक गणनामा समावेश गरिएको थियो ।