रुकुमका दुई स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु


धनवीर दाहाल, रुकुम ।
रुकुम पूर्वका तीन स्थानीय तह मध्य भूमे र सिस्ने गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । पुथा उत्तरगंगा गाउँपालिकामा भने प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु हुन सकेको छैनन् । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्ती मगरका अनुसार फारम भरी सकेकोमा अबको दुई तीन दिनमा नै प्रधानमन्त्री रोजगार कार्यक्रमको आरम्भ गर्ने जानकारी दिनुभयो ।

गाउँपालिकामा रोजगारका लागी आवेदन दिएकाहरुलाई छनोट गर्ने काम भैरहेको अध्यक्षले बताउनुभयो । कार्यक्रम अन्तर्गत पहिलो चरणमा भूमे गाउँपालिकामा २ सय ४० जना र सिस्ने गाउँपालिकामा २ सय २९ जनाले रोजगार पाएका छन् । दुई गाउँपालिकामा गरी ४ सय ६९ जनाले रोजगारी पाएको बताइएको छ । कार्यक्रमको मापदण्ड अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका परिवारमा एक आर्थिक वर्षमा न्यूतम एक सय दिन रोजगारमा संलगन नभएको तथा तोकिए बमोजिमको आय आर्जन नभएका आधारमा बेरोजगारलाई रोजगारीमा छनोट गरिएको हो । चालु आव भित्रै काम गर्नेगरी जिल्लाका ३ वटै स्थानीय तहमा बजेट आइसकेको छ ।

३ स्थानीय तहका लागि ८३ लाख रुपैयाँ जिल्लामा आएको छ । ३ गाउँपालिकामा रहेको बेरोजगारलाई रोजगारी प्रदान गर्न भन्दै संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उक्त बजेट जिल्लामा पठाएको हो । जिल्ला तिन ओटा स्थानीय तहमध्य सबैभन्दा बढी बजेट सिस्नेमा आएको छ । सिस्नेमा २९ लाख, भूमे र पुथामा २७÷२७ लाख बजेट रहेका छ ।

गाउँपालिकाको कार्यविधिका आधारमा कार्यक्रम कार्यान्वन गरिसकेको भूमे गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक वसन्ती सुवेदीले बताउनुभयो । जिल्ला स्थानीयतहले गोरेटो बाटो, मुहान संरक्षण, सरसफाई, स्याउ बगैंचा निर्माण त्यसैगरी शहिद पार्क, वृक्षरोपण, खानेपानी तथा भवन मर्मत, पर्यटन विकासका लागि युद्ध फिचर निर्माण जस्ता भौतिक विकासका कामलाई प्राथमिकता दिइएका छन् । भुमे गाउँपालिकाले भने श्रर्मिकलाई दक्ष र अदक्ष गरी दुई भागमा छुत्याइएको छ । भूमे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठका अनुसार मजदुरले दैनिक ८ घण्टा काम गरेबापत दक्ष श्रमिकले ८ सय ५० र अदक्ष श्रमिकले ५ सय ५० रुपयाँ पाउनेछन् ।