नयाँपुल अन्नपुर्ण पदमार्गको बैकल्पिक पदमार्ग निर्माण


दुर्गाप्रसाद शर्मा, पर्वत ।
पर्वतको मोदीगाउँपालिकामा पर्ने रमणीय स्थल भमरकोट हुँदै घोरेपानी सम्म बैकल्पिक पदमार्ग निर्माण शुरु भएको छ ।
बिश्वकै उत्कृष्ट पदमार्गमा सुचिकृत अन्नपुर्ण पदमार्गमा सडक बनेपछि बैकल्पिक पदमार्गको रुपमा भमरकोट – घोडेपानी पदमार्ग निर्माण शुरु गरिएको हो । मोदीको तिलाहारबाट सुरु हुने पदमार्ग घोडेपानी पुग्न २१ किलोमिटर लामो छ ।

बिरेठाँटी – घोरेपानी पदमार्गमा नजिकै पर्ने पर्वतको नयाँपुल देखि देउपुर हुँदै भवरकोटबाट घोडेपानी पुग्ने पदयात्रा निर्माण भैरहेको छ । ‘भवरकोटलाई घान्द्रुक र पुनहिल आउने पर्यटक संग जोड्न सकेमा यसलाई बैकल्पिक पदमार्गको रुपमा बिकास गर्न सकिन्छ।’ भमरकोट पर्यटन बिकास समितिका अध्यक्ष मनबहादुर खड्काले बताउनुभयो ।

भमरकोट संगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर गाउँहरु भूकदेउराली, ताङ्गले, लप्सीबोट, देउपुर, पुर्णगाउँ, लेस्पार, घुरुङ्गा लगायतका ठाउँमा घरबास(होमस्टे) सेवा सञ्चालन गरि प्रमुख पर्यटकीय गन्तब्य बनाउने गुरुयोजना बनाउने काम भैरहेकोे छ । घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा सडक बनेपछि धुलोका कारण उनीहरुले सडकले नछोएको र हिमाल सहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने देखिएको छ । ‘भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा कहिल्यै पनि सडक नपुग्ने भएकाले यो राम्रो पर्यटकीय गन्तब्य बन्न सक्छ’ उहाँले भन्नुभयोे ‘यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ’ पोखरा संग यसलाई जोडेर पर्यटकीय पुर्वाधार बनाउने योजना अघि सारिएको छ ।

अहिले देउपुर देखि भमरकोट हुँदै घोरेपानी पुग्न ११ किलोमिटर पदमार्ग निर्माण भैरहेको छ । संघीय सरकार र प्रदेश सरकारले यस बर्ष पनि बजेट बिनियोजन गरेका छन । यस बर्ष पदमार्ग निर्माण सक्ने लक्ष्य पुरा गर्न कठिन भएपनि एक दुई बर्षभित्र पुरा गर्ने अध्यक्ष खड्काको भनाई छ ।

मोदी गाउँपालिकाको वडा नम्बर १, २ र ३ को बीचमा पर्ने भंवरकोटको चर्चा बाहिर खासै नभए पनि देउपुरवासीका लागि भने प्रकृतिको उपहार नै हो । चारैतिर हिमालले घेरेको जस्तै लाग्ने विशाल खर्कबाट गण्डकी प्रदेशको राजधानी पोखरा, बाग्लुङ, म्याग्दी र पर्वतका अधिकांश भू–भागले पर्यटकलाई पनि लोभ्याउन सक्ने अवस्था छ । त्यसबाहेक पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि विस्थापित हुने भनिएको प्याराग्लाइडिङ उडान गर्न भमरकोट उत्तम गन्तब्य हुन सक्ने पर्वत – भमरकोट–घोडेपानी पर्यटन क्षेत्र बिकास समितिका सचिब राजेन्द्र खड्काले बताउनुभयो । ‘पोखराबाट एक घन्टा दूरी लामो पनि होइन,’ उहाँले भन्नुभयो , ‘पोखरा नजिकै प्याराग्लाइडिङ स्पट भएन भन्ने व्यवसायीको चिन्ता अब मेटिन्छ ।’