‘कू’ को साइत हेराएर मध्यरातमा संसद् बैठक


गंगा बराल, काठमाडौं
राजा महेन्द्रले ज्योतिषलाई नै साइत हेराएर संसद् बैठक बोलाइएपछि केही समयमै जननिर्वाचित संसद् भंग भयो । २०१५ साल फागुण ७ गतेबाट सुरु भएको निर्वाचनको परिणाम छिटै आए पनि महेन्द्रलाई त्यो संसद् जीवित गर्ने मन नभएकाले भंग गरिएको जान्नेबुझ्नेहरुको भनाइ छ ।

संसद बैठक राती बोलाइयो । संसद सचिवालयले प्रकाशित गरेको सूचना यस्तो छ ‘नेपाल अधिराज्यको संविधानको धारा २६ अनुसार, श्री ५ बाट प्रतिनिधि–सभालाई सम्बत् २०१६ साल, आषाढ १६ गते, रोज ३ मा रातको ११.४५ बजे ग्यालरी बैठक, काठमाडौं, मा आव्हान गरिबक्सेकोले, सर्वसाधारणको जानकारीको निमित्त यो सूचना प्रकाशित गरिएको छ ।’ संसद सचिवालयका सचिव कुलशेखर शर्माले सूचना जारी गर्नुभएको थियो ।

राजा महेन्द्रले महासभालाई पहिलो सम्बोधन साउन ९ गते र दोस्रो सम्बोधन चैत्र १८ गते गर्नुभएको थियो । २०१५ साल जेष्ठ २ गते सुवर्णशमशेर राणाको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले निर्वाचन गराएको थियो । निर्वाचनपछि नेपाली कांग्रेसले बहुमत ल्याएको थियो, त्यसपछि २०१६ जेष्ठ १६ गते विपी कोइराला प्रधानमन्त्री बन्नुभयो । विपी मोरङको ३२ नम्बर क्षेत्रबाट उम्मेदवार बन्नुभएको थियो ।

यतिबेला जिल्लाको निर्वाचन क्षेत्र हुँदैनथ्यो । सभामुख कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो । १ सय ९ सिटमध्ये कांग्रेसले ७४ सिट जितेको थियो, नेपाल कम्युनिस्ट पार्टीले ४ सिट जित्यो भने ४ जना स्वतन्त्र सांसदको रुपमा विजयी भए ।
२०४८ सालको आम निर्वाचनमा बाग्लुङ–१ बाट निर्वाचित सांसद गोबिन्दप्रसाद शर्मा कडेलले प्रधानमन्त्री बीपी कोइराला ललितपुरमा आयोजित तरुण दलको कार्यक्रमलाई सम्बोधन गर्दै गरेका बेला पक्राउ परेको बताउनुभयो ।

२०१७ पौष १ गते राजा महेन्द्रले संसद भंग गर्नुभएको थियो । पूर्वसांसद मञ्च र संघीय संसद सचिवालयले संयुक्त रुपमा आज ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा संसद दिवस मनाउँदैछ । संयुक्त रुपमा यो कार्यक्रमको आयोजना गरेको हो । मञ्चका महासचिव शंकरनाथ शर्माले सांसदबीच छलफल हुने र अनुभव साटासाट गरिने बताउनुभयो । कार्यक्रमको सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुहुनेछ । संसद सचिवालय नै आयोजक भएपछि सभामुख महरालाई प्रमुख अतिथि भनिने छैन । कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष तथा पूर्व सभामुख तारानाथ रानाभाट, पूर्व सभामुखहरु सुवासचन्द्र नेम्वाङ, रामचन्द्र पौडेल, ओनसरी घर्तीलगायतले बोल्नुहुनेछ । उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले स्वागत मन्तव्य राख्नुहुनेछ ।

विश्वका १ सय ९३ राष्ट्रहरुमध्ये हाल ७९ वटा मुलुकमा द्धिसदनात्मक व्यवस्था रहेको छ । नेपालमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नामले चिनिन्छन् । अन्य देशमा विभिन्न नामले यी सदनहरु चिनिन्छन् । राष्ट्रियसभालाई स्थायी सदन भनिन्छ, यसको कार्याकाल ६ वर्ष र प्रतिनिधिसभाको ५ वर्षको रहेको छ । राष्ट्रियसभामा २, ४ र ६ वर्षे कार्याकालमा सांसद रहेका छन्, गतवर्ष गोलाप्रथाद्धारा कार्याकाल तय गरिएको हो । राष्ट्रियसभामा यसअघि बेनीबहादुर कार्की र डा. मोहम्मद मोसिन अध्यक्ष बन्नुभएको थियो ।

अहिले गणेशप्रसाद तिमिल्सिना अध्यक्ष र शशिकला दाहाल उपाध्यक्ष हुनुहुन्छ । प्रतिनिधिसभामा २०४८ सालबाट यता दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवासचन्द्र नेम्वाङ (तिनपटक), ओनसरी घर्ती सभामुख बनिसक्नुभएको छ भने अहिले कृष्णबहादुर महरा सभामुख हुनुहुन्छ । उपसभामुख महन्थ ठाकुर, लिला श्रेष्ठ सुव्बा, चित्रलेखा यादव, पूर्णकुमारी सुवेदी, गंगाप्रसाद यादव, ओनसरी घर्तीले उपसभामुख भएर काम गरिसक्नुभएको छ ।

प्रतिनिधिसभामा अहिले उपसभामुख डा.शिवमाया तुम्वाहाङ्फे हुनुहुन्छ ।
२०५७ सालमा क्लवको नामले स्थापना गरिएको संस्था १० वर्षपछि मञ्च भएको हो । मञ्चमा २०१५ सालका सांसद श्रीकान्त अधिकारी, प्रेमराज आङ्देम्बे, कमलराज रेग्मी, नरबहादुर थापा, श्रीभद्र शर्मा पनि सदस्य रहेका थिए, उहाँहरुको निधन भइसकेको छ । क्लबको संस्थापक अध्यक्षमा रामहरी जोशी संस्थापक अध्यक्ष र त्यसपछि तारानाथ रानाभाट अध्यक्ष बन्नुभयो भने अहिले ओमकारप्रसाद श्रेष्ठ अध्यक्ष हुनुहुन्छ । श्रेष्ठ विदेशमा भएकाले कार्यवाहक अध्यक्ष झलकनाथ वाग्लेको अध्यक्षतामा आजको कार्यक्रम हुनेछ । हरेक ४ वर्षमा नेतृत्व परिवर्तन हुनेछ । मञ्चमा ५ सय ७ सदस्य रहेका छन् ।

मञ्चले यसअघि सरकारसँग धेरै माग राख्दै आएपनि सुनुवाई हुन छोडेपछि मागलाई पनि कटौती गरेको छ । महासचिव शर्माले सरकारले नसुनेपछि माग घटाइएको बताउनुभयो । ‘गुनासा त धेरै छन्, पहिले धेरैपटक उठाइयो, अब त थाकिसक्यौं, केही लागेन’, उहाँले भन्नुभयो– ‘सरकारी अस्पतलामा निःशुल्क उपचार हुने व्यवस्था गरियोस्, हाम्रो सीप, ज्ञान र क्षमतालाई सरकारले राज्यहितमा सदुपयोग गरोस् ।’ उनीहरुले यसअघि पूर्वसांसदलाई जीविका धान्न गाह्रो भएकाले न्यूनतम मासिक खर्च पनि मागेका थिए ।

गत वैशाखमा प्रकाशित मर्यादाक्रमको सूचीमा वर्तमान सांसद र पूर्वसांसदलाई समान १० नम्बरमा राखिदिएपछि पूर्वसांसदले थोरै भएपनि सम्मान पाएको महसुस गरेका छन् ।

मञ्चले प्रदेश १ मा र सुदूरपश्चिम प्रदेशमा गएर निर्वाचन प्रणालीका साथै अन्य विषयमा पनि अन्तरक्रिया गरेको थियो । खर्चिलो निर्वाचन प्रणाली भएकाले कतै प्रणाली नै परिवर्तन गरेर जाने पो हो कि भन्ने विषयमा पनि छलफल हुँदै आएको जनाइएको छ । उता संविधानसभाका सदस्यले पनि संविधानसभा परिषद् नेपाल गठन गरेका छन् ।

२०७० सालका संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल अध्यक्ष र ऋषिकेश पोखरेल महासचिव रहेको संविधानसभा परिषद् नेपाल गठन गरिएको छ । संविधानसभाका सदस्यहरु पनि पूर्व सांसद मञ्चमा आबद्ध भएका छन् ।