बावुको काजकिरिया गर्ने आँटिला दिदीबहिनी


ज्ञानमणि नेपाल कालोटोपी, मकवानपुर ।
अहिले पनि हाम्रो समाजमा बाबुआमा मरेपछि छोराले नै काजकिरिया गर्नु पर्छ भन्ने मान्यता कायम छ । तर केहि ठाउँमा यो मान्यतालाई छोरीहरुले पनि चुनौती दिन थालेका छन् ।

जिल्लाको थाहानगरपालिका १० का दुई दिदीबहिनी बाबुको काजकिरियामा बसेपछि पुरानो सामाजिक मान्यतालाई चुनौती भएको छ । बाबुआमाको निधन भएपछि छोराले मात्र काजकिरिया गर्नुपर्छ भन्ने सामाजिक संस्कारलाई यहाँका २१ बर्षकी अस्मिता थापा र १६ बर्षकी रेनिसा थापाले तोडीदिएका हुन् । गत असार १० गते ब्रेन स्ट्रोक रोगबाट बाबुको मृत्यु भएपछि उनीहरु काजकिरियामा बसेका छन् ।

उनीहरुका ६६ वर्षीय बाबु रामचन्द्र थापा गत चैतदेखि विरामी थिए । उनीहरुले परम्परागत सोचमा परिवर्तन ल्याउनको लागि आफूहरु बाबुको काजकिरियामा वसेको बताए । छोरी पनि छोरा भन्दा कम छैनन् भन्ने कुरालाई पुष्टि गर्दै उनीहरु काजकिरिया गर्न अघि सरेपछि अहिले त्यहाँ उनीहरुको प्रशंसा गर्नेहरु बढिरहेका छन् । उनीहरुको आँट, हिम्मत र साहसको सबैले तारिफ पनि गरेका छन् ।

समाजमा व्याप्त छोराछोरीबीचको विभेदलाई अन्त्य गर्न र छोरीहरुले पनि आफूहरुलाई जन्मदिने वुवाआमाहरुको रेखदेखका साथै मृत्युपछि गरिने संस्कारमा सहभागी हुन सक्छन् भन्ने उदाहरणको रुपमा उनीहरुलाई लिन सकिने स्थानियपत्रकार सिम्रन खड्का बताउँछिन् ।

दुई छोरीले यसरी बाबुको काजकिरिया गर्ने आँट गरेपछि यो घटनाले स्थानीयवासीहरुले छोरीलाई पनि छोरा सरह व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिएको बताएका छन् । समुदायमा छोरा नहुने परिवारहरुको हकमा दाईभाई, उनीहरुको छोरा र त्यो पनि नभए छोरी ज्वाईले काजकिरिया गर्ने संस्कारलाई उनीहरुको सहासले चुनौती स्थानियवासीहरुले बताए ।