पत्रकारितामा दलीय मिसन व्यावसायिक समस्या


न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली पत्रकारितामा अपेक्षित रुपमा व्यावसायिक सफलता आर्जन हुन नसकेको सम्पादक तथा मिडिया प्रशिक्षकहरुले स्वीकार गर्दै दलीय मिसन र व्यापारिक सम्झौता यसको कारणका रुपमा रहेको बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयअन्तरगतको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले आइतबार राजधानीमा आयोजना गरेको दैनिक अखबार, टेलिभिजन, अनलाइन र रेडियोका सम्पादक तथा समाचार सम्पादक र सञ्चार गृहका अध्यक्ष तथा कार्यकारी प्रमुख तथा मिडिया प्राध्यापकहरुको भेलाले यो निष्कर्ष निकालेको हो ।

‘सम्पादकहरुले धेरै समस्याकाबीच न्युज रुमको नेतृत्व गर्नुपर्छ भन्ने मलाई थाहा छ, यति हुँदाहुँदै पनि सुधार गर्न सकिने र व्यावसायिक पत्रकारिताका लागि योगदान दिने ठाउँहरु धेरै छन्,’ प्राध्यापक पी. खरेलले भन्नुभयो, ‘अखबार जो अमुक पार्टीको निकट छ भनेर चिनिएको छ, उसले आफ्नै पार्टीका नेताको सकारात्मक समाचार लेख्दा पनि नाम बताउन नचाहने स्रोतका अनुसार भनेर लेखेको मैले देखेको छु, किन, म पनि बुझ्छु नि, पार्टीभित्रको गुट रिसाउला भनेर !’

राजधानीबाट प्रकाशित–प्रसारित सबैजसो नाम चलेका दैनिक अखबार, अनलाइन, टेलिभिजन र रेडियोका सम्पादकलगायतसँगको अन्तरक्रियाको उपलव्धिका सम्बन्धमा केन्द्रीय विभागका विभागीय प्रमुख चिरञ्जीवी खनालले भन्नुभयो, पत्रकारितामा व्यावसायिकताको सबाल उठिरहेका बेला सम्पादकहरुले आफ्नो व्यावसायिक स्थिति कहाँ छ, मनन गरेका छन्, सुधार गर्नुपर्ने क्षेत्रको पहिचान गर्दै त्यसलाई आत्मसात् गरेका छन् ।’ उहाँले आगामी दिनमा न्युजरुमलाई व्यावसायिक रुपले सबल बनाउन यस अन्तरक्रिया कार्यक्रमले सघाउने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल समाचारपत्र तथा न्युज अफ नेपालका सम्पादक कपिल काफ्लेले व्यावसायिक पत्रकारिताका लागि आफ्नो संस्था र आफूले खेल्दै आएको भूमिका र सामना गरेका चुनौतीका सम्बन्धमा प्रकाश पार्नुभएको थियो ।