वीरगन्ज महानगरपालिकाका मेयरमाथि हातपातको प्रयास

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीमाथि हातपात गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

समाजवादी पार्टीकै कार्यकर्ता अजय चौरसिया पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । वीरगन्ज–११ श्रीपुरमा रहेको श्रीपुर विद्यापीठ माध्यमिक विद्यालयमा सिसिटिभी र ई–हाजिरीको उद्घाटन गरेर फर्कदा चौरसियाले नगर प्रमुख सरावगीलाई दुब्र्यवहार गरेका थिए ।

उद्घाटन कार्यक्रम सकिएर फर्कदा विद्यालयको गेटमा उभिएका चौरसियाले नगरप्रमुखलाई गाली गलौज गर्नुको साथै हातपात गर्न खोजेका थिए ।तर नगर प्रमुख सरावगीका निजी सुरक्षा गार्डले रोकेका कारण हात हाल्न भने पाएनन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखेको छ ।

नगर प्रमुखसँग वादविवाद गर्नुको साथै हात हाल्न खोजेकोले चौरसियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिनुभयो । पार्टीकै नेताहरुको उक्साहटमा आफूमाथि दुर्व्यबहार भएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी बताउनुभयो ।

‘पार्टीकै केही साथीहरुको उन्माद बढेको छ, कसरी नगर प्रमुखलाई कमजोर बनाउने भनेर लागेका छन्’ उहाँले भने ‘पार्टीकै नेताको उक्साहटमा एकजना कार्यकर्ताले हात हाल्न खोजेका थिए, पीएसओले छेकेकोले जोगिएँ ।’

कार्यक्रममा मन्तव्यका क्रममा नगर प्रमुखले श्रीपुर विद्यापीठ माविमा निर्माणाधीन शौचालयको विषयमा असन्तुष्टि जनाएपछि विवाद बढेको थियो । प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नगरी काम गरिरहेको भन्दै उहाँले यसरी बनाइएका संरचना भत्काइदिने चेतावनी दिनुभएको थियो ।