एउटै कक्षाकोठामा १ सय ४० विद्यार्थी


विष्णु तिमिल्सिना, बर्दिया

गुलरिया नगरपालिका–२ खैरापुरमा रहेको नेपाल राष्ट्रिय सम्भुशरण माध्यमिक विद्यालयको कक्षा ९ मा १ सय ४० जना विद्यार्थी पढिरहेका छन्। विद्यालयमा हलको रुपमा निर्माण गरिएको कोठामा अध्ययन गरिरहेका विद्यार्थीको बुझाइमा समस्या देखिएको छ।

नेपाल सरकारको मापदण्डअनुसार एउटा कक्षामा बढीमा ५० विद्यार्थी मात्र राख्नुपर्ने व्यवस्था रहे पनि शिक्षक र कक्षाकोठाको अभावले एउटै कोठामा पढाइ सञ्चालन गर्न बाध्य रहेको कुरा विद्यालयका प्रधानाध्यापक प्रमोदकुमार तिमिल्सिनाले बताउनुभयो।

विद्यालयमा हालको अवस्थामा पनि मावि स्तरका १ जना, निमावि स्तरका ३ जना शिक्षक आवश्यकता रहेको र सेक्सन विभाजन गरेर पढाउँदा सोहीअनुसार शिक्षक र कक्षाकोठा थप आवश्यक पर्नेछ। उक्त विद्यालयमा १ हजार १ सय विद्यार्थी अध्ययनरत छन् भने स्थायी र अस्थायी गरी २१ जना शिक्षक रहेको कुरा विद्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराइएको हो।

सो विद्यालयले २०७६ साल जेठदेखि मासिकरुपमा आफ्नो विद्यालयको आय–व्यय र विद्यालयको अवस्था सार्वजनिक गर्ने थालनी गरेको छ। जेठ महिनामासम्ममा कुल आम्दानी ९ लाख २२ हजार ४ सय ५ रहेको छ। साथै कुल खर्च गर्न बाँकी (दायित्व) ३ लाख ८५ हजार ८ सय १५ रुपियाँ, मौज्दात आय ६ लाख ४५ हजार ९ सय ५ र बचत रकम २ लाख ६० हजार ९० रुपियाँ रहेको छ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पत्रकारहरूको सहभागिता रहेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश चन्द्र यादवले अबदेखि हरेक महिनाको ३ गते विद्यालयको प्रतिवेदन सार्वजनिक गरिने कुरा बताउनुभयो।