चिनियाँ सहकार्य बढाउने सहमति मन्त्री पुन र राजदूत हाउबीच भेटवार्ता


नेपाल समाचारपत्र, काठमाडौं
सरकारले ऊर्जा क्षेत्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा चासो बढाइरहेका बेला ऊर्जामन्त्री वर्षमान पुनले नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग भेटवार्ता गर्नुभएको छ।

चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन विद्युतीय आयोजना र नेपालको ऊर्जा क्षेत्रमा चिनियाँ लगानी बढाउने सकिने सम्भावनाका बारेमा उहाँहरूबीच भेटवार्ता भएको हो। नेपालले भारत र बंगलादेशसँग ऊर्जामा सहकार्य गरी लगानी गर्ने प्रतिवद्धता आइसकेको जानकारी दिँदै मन्त्री पुनले चीनसँगको सहकार्य आवश्यक भएको बताउनुभएको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपालको जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी आवश्यक भएको उल्लेख गर्दै मन्त्री पुनले भन्नुभयो– ‘जलविद्युत्मा लगानी र बजार विस्तारका लागि पहल गरिरहेका छौं, चिनियाँ लगानीकर्ताको साथ र सहयोग पनि जरुरी छ।’ चिनियाँ निर्माण कम्पनीले चीन र विश्वका धेरै मुलुकमा उत्कृष्ट काम गरेका उदाहरण पर्याप्त भए पनि नेपालका आयोजना समयमा सम्पन्न हुन नसक्ने कारण बारेमा पुनले जिज्ञासा राख्नुभएको थियो।
मन्त्री पुनले भन्नुभयो– ‘नेपालको तर्फबाट केही कमी कमजोरी रहेको भए हामी हाम्रो प्रणाली सुधार गर्छौं।’ चिनियाँ कम्पनीले निर्माण गरिरहेको ‘त्रिशूली–३ ए’ र कुलेखानी आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिँदै उहाँले आयोजना यथासक्य सम्पन्न गर्न चिनियाँ समन्वय आवश्यक भएको बताउनुभएको मन्त्रालयले जनाएको छ।
प्रतिउत्तरमा राजदूत हाउले चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाका व्यावहारिक कठिनाइबारे आफूले पनि सूक्ष्म अध्ययन गर्ने बताउँदै समस्या समाधानमा सघाउने प्रतिवद्धता जनाउनुभएको छ। ‘चीन नेपालको घनिष्ठ मित्र हो, नेपालको प्रगतिमा चीनको साथ र सहयोग सधंै रहन्छ, त्यसैका लागि यहाँ धेरै चिनियाँ कम्पनीले काम गरिरहेका छन्’ –राजदूत हाउको भनाइ उद्धृत गर्दै मन्त्रालय स्रोतले भन्यो।