जागरण अभियानबारे अन्तरक्रिया गर्दै कांग्रेस


नेपाल समाचारपत्र, काठमाडौं
नेपाली कांग्रेसले जागरण अभियानमा प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालयमा जागरण अभियानका बारेमा बसेको बैठकले प्रथम चरणका सबै केन्द्रीय प्रतिनिधिसँग बुधबार अन्तरक्रिया कार्यक्रम गर्ने जनाएको छ। कार्यक्रममा अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिले आफूले तयार गरेको प्रतिवेदन र अनुभवका बारेमा केन्द्रीय नेतृत्वसँग छलफल गर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।
अभियानको एक महिनामा सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजारभन्दा बढी बैठक, भेला, आन्तरिक सभाहरू, खुला सभा, ¥याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएका पार्टी कार्यालयले जनाएको छ। जागरण अभियानको प्रथम चरण गत वैशाख २५ मा प्रारम्भ भई जेठ २५ गते सम्पन्न भएको थियो।
अभियानको दोस्रो चरण आगामी भदौ २४ गते प्रारम्भ भई असोज ७ गतेसम्म चल्ने र तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भई पुस १६ गते मेलमिलाप दिवसमा समापन गरिने कार्यतालिका छ। जागरण अभियानको प्रथम चरणको समीक्षालगायत अन्य विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते बोलाइएको छ।