हेटौंडाका घरः एकै प्रकार, एकै रङ

0
Shares

हेटौंडा, (नेस) ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा बजार क्षेत्र १६ मिटर वा २५ मिटर भत्किए पनि अब बजारलाई नयाँ रुप दिइने बताउनुभएको छ ।

हेटौंडा उपमहानगरपालिकाको पाँचौ नगरसभा बैठक उद्घाटन गर्दै उहाँले बजार क्षेत्रका घरहरु भत्किएपछि एकै प्रकारका घर, उस्तै रङ लगाउने र हेटौंडालाई थप नयाँ रुप दिइने बताउनुभयो । हेटौंडा बजारमा एउटै प्रकृतिका नयाँ रुप दिन प्रदेश सरकारले अनुदानसमेत दिने उहाँले बताउनुभयो ।

हेटौंडाको हुप्रचौरलाई सौन्दर्ययुक्त, सबै क्षेत्रका नागरिक घुम्न आउने गरी बनाइनुपर्ने उहाँले बताउनुभयो । प्रदेश सरकारले हेटौंडालाई उल्लेख्य रकम छुट्याएको बताउँदै उहाँले भन्नुभयो–हेटौंडाको विकासका लागि धेरै भन्दा धेरै बजेट छुट्याएको छु । मेरो प्राथमिकता हेटौंडामात्र होइन, सबै क्षेत्र हुन्, तापनि हेटौंडालाई प्राथमिकता दिएको छु ।

सबैले आफ्ना वडा भन्दा पनि समग्र नगरको विकास गर्नुपर्ने भन्दै उहाँले हरेक नीति कार्यक्रमलाई रोजगारीसँग जोडिनुपर्ने बताउनुभयो । प्रदेश सरकारले काम गरेन भन्दा पनि अहिलेको कठिन परिस्थितिमा पनि धेरै काम गरिएको मुख्यमन्त्री पौडेलले दाबी गर्नुभयो ।

बजेट ल्याउँदा पार्टीका घोषणापत्रमा उल्लेख गरिएका कामलाई प्राथमिकता दिन उहाँले ध्यानाकर्षण गराउनुभयो । तीन तहका सरकारले समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने उहाँको विचार छ । हेटौंडाका अशोकका रुख र शहीद स्मारकले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले विकासको अवधारणा अझै पनि पुरानो तरिकाले चलेको बताउनुभयो । उपमहानगर मेयर हरिबहादुर महतले नगरको कामको गति छिटो भएको तर, त्यसअनुसार कानुन नभएकोले समस्या सृजना भएको बताउनुभयो ।

नगरसभा बैठकका उहाँले कामको स्पिडअनुसार कानुन भए काम गर्न सहज हुने औंल्याउनुभयो । नेपालमा निर्माण क्षेत्रमा निर्माण व्यबसायीले बनाएको कानुन भएकोले समस्या आएको हुनसक्ने उहाँको आशंका छ ।

हेटौंडामा सडक फराकिलो बनाउने कामसँगै फूलैफूलको शहरका रुपमा विकास गर्न नगरपालिका लागिपरेको बताउँदै मेयर महतले भन्नुभयो–हाम्रै परिकल्पनाबाट शहीद स्मारक अहिलेको अबस्थामा पुग्यो । हेटौंडा बजारमा हरियाली भयो । अब भने फूलैफूलको शहरका रुपमा विकास गर्न चाहन्छांै ।

आफू थोरै बोल्ने तर काम धेरै गर्न रुचाउने भएकोले पाँच वर्ष कार्यकालमा हेटौंडालाई नमूना शहरका रुपमा विकास गर्ने उहाँको दाबी छ ।