जेलका जनशक्तिलाई रोजगारीसँग जोड्न आग्रह

0
Shares

हेटौंडा, (नेस) ।
प्रदेश–३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले देशभरका जेलमा ठूलो जनशक्ति रहेकोले उनीहरुलाई रोजगारीसँग जोड्नुपर्ने बताउनुभएको छ ।

जेलका जनशक्तिलाई आयआर्जनसँग जोडे विकासमा सहजता आउने उहाँको भनाइ छ । कैदीबन्दी बस्ने जेलमा भौतिक संरचना सुधार गर्नु पहिलो आवश्यक्ता रहेकोमा उहाँको जोड छ ।
कारागार व्यबस्थापन विभागको आयोजनामा कारागार व्यबस्थापन सम्बन्धि प्रदेशस्तरीय समन्वय गोष्ठीको हेटौंडामा उद्घाटन गर्दै उहाँले समग्र जेलको समस्या पहिचान गरेर सुधार गर्नतर्फ प्रदेश सरकार र जेल प्रशासन लाग्नुपर्ने बताउनुभयो ।

जेलमा पालैपालो सुत्नुपर्ने अबस्था भएकोले यसमा सुधार गर्नुको बिकल्प नरहेको उहाँले बताउनुभयो । धेरै खालका समस्या भएकोले अब कानुनीरुपमा नै जेलसुधार गर्न लाग्नुपर्ने बताउँदै उहाँले भन्नुभयो–म चार वर्ष देशका विभिन्न जेलमा बसेको छु । ती जेलको अबस्था मलाई थाहा छ । त्यसैले अहिलेको अबस्थाबाट सुधार गर्नैपर्छ । कैदीबन्दी बस्ने अबस्था असाध्यै विकराल छ । प्रदेशका जेलमा एकदम भिडभाडमा बसिरहेका छन् कैदीबन्दी ।

जेल प्रशासनले नीतिनियम, कानुनसँगै आचरण सुधार गर्नुपर्ने मन्त्री जम्कट्टेलले बताउनुभयो । ‘जेलर भन्दा चौकीदार ठूला भएकोले यस्तो अन्त्य गरिनुपर्छ,’ उहाँले भन्नुभयो–हाम्रा नीति कागजमा लेखिने तर, व्यबहारमा लागु नहुने समस्या छ ।

नाइके, सहनाइके भएबापत् वर्षेनि सरकारबाट हुने कैदमाफीको प्राथमिकतामा पर्ने गर्छन् । हरेक हिसाबले आकर्षक मानिने उक्त पदमा नियुक्तिका लागि लाखौं रुपियाँ चलखेल हुने गरेको बेलाबखत सार्वजनिक हुँदै आएको छ ।

जेलभित्रका विकृति यति बढिसकेका छन् कि त्यसमा सामान्य सुधारले अर्थ राख्दैन । राज्यका नीतिनिर्माताले बेलैमा त्यसतर्फ सोची व्यबस्थापनमा आमूल सुधार नगरे जेल ‘सुधारगृह’ नभएर अपराधी उत्पादनको विश्वविद्यालयमा परिणत हुन बेर नलाग्ने दाबी गरिएको छ ।

देशका सात वटै प्रदेशमा कारागारका एकैखाले समस्या रहेकोले यी समस्या समाधानका लागि लाग्नुपर्नेमा जोड दिइएको छ । कारागारमा भौतिक पूर्वाधार अभाव, सेवासुबिधामा, पानीको अभावलगायत समस्या छन् । कार्यक्रममा प्रदेशका १३ वटा जिल्लाका कारागारबाट सहभागी जेलरले कारागारको अबस्थाबारे प्रस्तुतिकरण गरेका थिए ।