जोमसोम बिमानस्थलबाट दुई हप्तापछि उडान शुरु

0
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत
हिमालपारीको जिल्ला मुस्ताङ्गको जोमसोम बिमानस्थलमा दुई सातापछि हवाई उडान शुरु भएको छ ।

विमानस्थल स्तरोन्नतिको काम पूरा भएपछि जोमसोम बिमानस्थलमा १६ दिनपछि हवाई उडान कार्य सुचारु भएको हो ।

बिमानस्थलको स्तरोन्नतीका लागि जेठ २५ गते देखि हवाईसेवा बन्द भएको थियो । धावनमार्गको ग्रेड सम्याउने तथा कालोपत्रे गर्ने काम सम्पन्न भएसंगै नियमित उडान शुरु भएको छ ।

विमानस्थल स्तरोन्नतिको काम सकिएपछि सोमबार बिहान तारा एयरले विमानस्थलमा पहिलो विमान अवतरण गराएसँगै विमानस्थल सुचारु भएको विमानस्थल सुधार आयोजनाका प्रमुख इन्जिनियर कृष्णप्रसाद पौडेलले बताउनुभयो । विमानस्थलको स्तरोन्नतिपछि पहिलो दिन सोमबार तारा एयरलाइन्सलले ५ र समिट एयरलाइन्सले ४ ओटा उडान भरेका छन्।

इन्जिनियर पौडेलका अनुसार हाइ ग्रेड रनवेलाई सम्याएर लेबल मिलाई अस्पाल प्रविधिबाट नयाँ रनवे बनाइएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरणले ९ करोड १२ लाखको लागतमा विमान स्थलको स्तरोन्नति गरेको हो।

स्तरोन्नतिको कामको ठेक्का पाएको एपेक्स कन्ट्रक्सनले विमानस्थलको सुरक्षार्थ नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, विमान पार्किङ, रन वे ग्रेड कटिङ, पर्खालसहित तारबारको फिनिसिङ लगायतका काम गरेको छ।

वर्षा याम सुरु हुनै लागेको बेलामा मर्मत र स्तरोन्नतिको काम सुरु गरिँदा मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई समस्या भएको थियो। बर्खाको समयमा पर्वत र म्याग्दीका विभिन्न स्थानमा सामान्य वर्षामा पनि पहिरो खस्ने र खोला बढ्ने समस्या रहेका कारण यो समयमा पर्यटकले हवाई मार्गलाई बढी रोज्ने गरेका छन्।

तर तोकिएकै समयमा विमानस्थलको काम पूरा भएका कारण अव भने मुस्ताङ आउजाउ गर्ने सबैको समस्या टरेको छ। हवाई सेवा सुचारु भएसँगै मुस्ताङ आउजाउ गर्ने ब्यापारी तथा पर्यटकको चहलपहल पनि बढेको जोमसोमका होटेल व्यवसायीले बताएका छन्।

तारा एयरलाइन्स, समिट एयरलाइन्स र नेपाल वायुसेवा निगमले मुस्ताङमा उडान भर्दै आइरहेका छन्।