विवादास्पद् जग्गामा १० करोडको भवन !

0
Shares

हेटौंडा, (नेस) ।
अदालतमा मुद्धा विचाराधीन रहेको र त्रिभुवन विश्वविद्यालयसँगको सम्पत्ति विवाद जारी रहेको बेला कृषि तथा बनविज्ञान विश्वविद्यालयद्वारा विवादास्पद् जग्गामै कराडौं लगानी गरी शैक्षिक भवन निर्माण थालिएको छ ।

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले शैक्षिक भवन शिलान्यास गर्नुभएको हो । कुल ९ करोड ८८ लाख लागतमा भवन निर्माण गर्न लागिएको कृषि तथा बनविज्ञान विश्वविद्यालय बन संकाय हेटौंडाका डिन डा. बलराम भट्टले बताउनुभयो ।

भवनका पाँच तलामा २० वटा कोठा निर्माण हुनेछ । भवनमा कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला, सेमिनार हल निर्माण हुने डिन डा. भट्टले जानकारी दिनुभयो । भवन अभावका कारण कृषि तथा बनविज्ञान विश्वविद्यालयका विद्यार्थीलाई अध्यापन गराउन समस्या भएपछि भवन निर्माण सुरु गरिएको हो ।

कृषि तथा बनविज्ञान विश्वविद्यालयअन्तर्गत् बनविज्ञान संकायमा स्नातक तथा स्नातकोत्तर एवम् २ जना विद्यावारिधि गरी ४ सय २३ विद्यार्थी अध्ययनरत् छन् ।

कृषि तथा बनविज्ञान विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयले कृषि र बनको अध्ययन, अनुसन्धान तथा शैक्षिक विकासतर्फ जोड दिएको बताउँदै यस क्षेत्रमा १० भन्दा बढी परियोजना सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा मकवानपुर–१ का सांसद् तथा अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, प्रदेश–३ का उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल, प्रदेशका प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेश सांसद् प्रेमबहादुर पुलामीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बनविज्ञान क्याम्पसले आफ्नो हाताभित्र क्याम्पसको स्वीकृतिबेगर कुनै किसिमको अस्थायी वा स्थायी प्रकृतिको संरचना वा घरटहरा निर्माण गर्न नपाइने र सो गर्ने÷गराउन प्रयत्न गर्नेसमेत नियमसम्मत् नरहेको अवगत गराएको छ ।
बनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस, हेटांैडाको दक्षिणपूर्वी हातामा स्थान नतोकी कृषि तथा बन विश्वविद्यालय बनविज्ञान संकाय हेटौंडाले चैत ११ गते भवन निर्माण सम्बन्धित बोलपत्र आह्वान गरेको थियो ।

उक्त स्थानमा जेठ ३१ गते विनाइजाजत एक्साभेटर प्रयोग गरी डेढ बिगाहा जग्गाको साल, मसलालगायत विभिन्न प्रजातिका लाथ्रा, पोल रुखसमेत गरी करिब २ सय रुख कटान गरी दक्षिणपट्टि छेऊ लगाएको हुनाले सो जग्गामा भवन निर्माणको प्रयत्न गर्नु कानुनविपरीत भएको बनविज्ञानको विज्ञप्तिमा उल्लेख छ ।

‘यस प्रकारको क्रियाकलाप नगर्न÷नगराउन सम्बद्ध सबैलाई सूचित गरिन्छ । आग्रह अवज्ञा गर्ने प्रत्यन नगर्न पनि सम्बन्धितलाई सूचित गरिन्छ,’ विज्ञप्तिमा उल्लेख छ । बनविज्ञानको हेटौंडा क्याम्पसको स्वामित्वमा रहेको कित्ता नम्बर–५६ को १५७ बिगाहा १९ कठ्ठा १४ धुर क्षेत्रफलको सम्पूर्ण जग्गा हालसम्म कुनै विश्वविद्यालय वा कुनै निकायलाई हस्तान्तरण नगरिएको त्रिवि बनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पस प्रमुख विजयकुमार यादबले बताउनुभयो ।

मुख्यमन्त्रीले शिलान्यास भवन शिलान्यास गरेको स्थान कित्ता नम्बर–५६ मै पर्ने र उक्त जग्गा वषौंदेखि बनविज्ञानको सम्पत्ति रहेको यादबले बताउनुभयो । २०६७ असार ३ गते मन्त्रिपरिषद्ले ऐन पारित गर्दै हेटौंडास्थित त्रिभुवन विश्वविद्यालयको बनविज्ञान अध्ययन संस्थानमा कृषि तथा बनविज्ञान विश्वविद्यालयको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तर, सरकारी निर्णय नमान्दै त्रिविले पनि बन संकायको अध्ययन अध्यापन गराउँदै आएको थियो । विवादबीच दुवै विश्वविद्यालयले एउटै भवनमा दुई सिफ्ट गरी झण्डै ५ वर्षदेखि आआफ्ना कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।