वाग्मतीमा अवैध नदी उत्खनन


सञ्जय कार्की, रौतहट
सरकारले निषेध गरेको समयमा पनि रौतहटको नदी दोहन भइरहेको छ। असारदेखि भदौसम्म नदीमा गिटीजन्य पदार्थको उत्खनन गर्न नपाइने नियम भए पनि यहाँको वाग्मती नदीमा स्काभेटर प्रयोग गरेर उत्खनन भइरहेको छ।

रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित राजमार्गभन्दा उत्तरी क्षेत्रमा पर्ने नुनथर क्षेत्रको वाग्मती नदीमा नम्बर प्लेट नभएको स्काभेटरबाट गिटीजन्य पदार्थ उत्खनन भइरहेको छ। नुनथरक्षेत्रको विकासका लागि भन्दै स्काभेटरबाट उत्खनन गरेर ना१क ७९४२ र ना ७ ख ५४६६ नम्बरको टिपरमा गिटी ढुवानी हुँदै आएको छ। सामान्य नागरिकको भने ढुवानीका साधन नदीमा जान नपाएपछि बन्द भइसकेको छ।

सरकारले राष्ट्रपति चुरे संरक्षणको नाममा वर्षेनी करोडौं रुपियाँ खर्चे पनि नदीमाथिको दोहन रोकिन नसक्दा सम्भावित क्षतिको जोखिम बढेको छ। चुरे संरक्षणको नाममा नदीमा स्काभेटरको प्रयोग गर्न रोकिएको थियो तर, स्थानीय तहमा जनप्रतिनिधि चुनिएसँगै नदी दोहन भएको छ। स्थानीय तहले ठेक्का लगाएपछि अव्यवस्थित र अनियन्त्रित तवरले गिटीजन्य पदार्थको उत्खनन भएको हो।

जथाभावी भएको उत्खननले वर्षायाममा नदीको धार परिवर्तन भएपछि मानव बस्तीमा खतरा हुन सक्ने स्थानीय बासिन्दाको अनुमान रहेको छ। २०५० सालमा उक्त बाग्मती नदीमा आएको बाढीले त्यस क्षेत्रमा ठूलो जनधनको क्षति पुगेको थियो। राजमार्गभन्दा उत्तरतर्फ स्काभेटर प्रयोग गर्न नपाइने भए पनि नुनथर क्षेत्र विकास समितिले उक्त नदीको उत्तरतर्फ मकवानपुर, सर्लाही र रौतहटको सीमाना रहेको वाग्मती नदीमा खुलेआम स्काभेटर प्रयोग गरेका छन्।

नदीको माथिल्लो सतहलाई पोखरी बनाएर गिटी उत्खनन भइरहेको छ। यसअघि सोही नदीको दक्षिणतर्फ चाहिनेभन्दा बढी गिटी उत्खनन भएपछि मानव बस्तीमा पानीको संकट चुलिँदै गएको छ। यतिखेर वातावरणीय प्रभाव मूल्यांकनसमेत छैन, तर पनि जबरजस्ती स्काभेटरको प्रयोग भएको छ। यसअघि स्थानीय तहले नदीजन्य पदार्थको निकासी ठेक्का लगाउँदा ठेकदारले छ मिटरसम्म गहिरो बनाएर गिटी उत्खनन गरेका थिए जसले गर्दा पानीको सतह घट्न गएको छ। मानव बस्तीमा पानीको संकट पर्दै जान थालेपछि त्यसको समेत बेवास्ता गरिएको छ।