नापी सर्वेक्षकसमेत तीनविरुद्ध भ्रष्टाचार मुद्दा


नेपाल समाचारपत्र, काठमाडौं
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखु काठमाडौंका नापी सर्वेक्षक श्यामकृष्ण न्यौपानेसमेत तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

भ्रष्टाचार भएको प्रमाणसहित आयोगले उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक न्यौपाने, मालपोत कार्यालय साँखुका नायब सुब्बा महेश काफ्ले र लेखापढी व्यवसायी विष्णु केसीका विरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।

आयोगका अनुसार उनीहरू जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको घूस रकमसहित पक्राउ परेका हुन्।

सेवाग्राहीसँग घूस माग गरिरहेको सूचनाका आधारमा आयोगको टोलीले उनीहरूलाई १ लाख ५० हजार रुपियाँ घूससहित पक्राउ गरेको थियो।

घूससहित नियन्त्रणमा लिई अनुसन्धान हुँदा जग्गा हालसाविक गर्ने कार्यमा नापी कार्यालय साँखुका नापी सर्वेक्षक न्यौपाने र मालपोत कार्यालय साँखुका नायब सुब्बा महेश काफ्लेले घूस माग गरी मध्यस्थकर्ता विष्णुकुमार केसीलाई कुराकानी गर्न लगाई उक्त घूस न्यौपाने र काफ्लेले भ्रष्टाचार गरेको आयोगले आरोप लगाएको छ।

वडा सदस्य पनि घूसमै
त्यस्तै, महोत्तरी एकडारा गाउँपालिका–४ का वडा सदस्य रामचन्द्र राय ९यादव० विरुद्ध पनि आयोगले आइतबार नै विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उनले गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराइदिने भनी सेवाग्राहीसँग ३६ हजार रुपियाँ घूस लिएका थिए। उनलाई आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले घूस रकमसहित पक्राउ गरेको थियो।