सुनील महर्जन, काठमाडौं
स्थानीय तहका लागि लोकसेवा आयोगमा आवदेन दिने म्याद दुई दिन मात्र बाँकी छ।
आयोगको अनलाइन फराम भर्ने म्याद असार १० गते समाप्त हुने भएको छ। असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ। आयोगले एक साताअघि सो म्याद थप गरेको थियो।
आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार आइतबारसम्म खुलातर्फ २ लाख ८४ हजार ८ सय ६१ आवेदन फाराम भरिएको छ। त्यसै गरी समावेशीतर्फ ६९ हजार ७ सय ९७, जनजातितर्फ ३० हजार ६ सय २७, मधेसीतर्फ १८ हजार १ सय १, दलिततर्फ २ हजार २ सय ७, अपांगतातर्फ १ सय १ र पिछडिएको क्षेत्रमा ८७ को निवेदन परेको छ।
आयोगले ५ सय २१ स्थानीय तहका लागि ९ हजार ४ सय ६१ कर्मचारी भर्नाकोे विज्ञापन निकालेको थियो। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएलगतै फाराम भर्नेको संख्यामा कमी आएको थियो। ठूलो संख्या र लामो समयपछिको विज्ञापन भएका कारण त्यसभन्दा अझै बढी आवेदन आउन सक्ने अनुमान आयोगको थियो।
आयोगले अघिल्ला वर्षको तुलनामा सरदर ६ लाख आवेदन पर्ने गरेको तथ्यांक पेस गरेको थियो। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएपछि आवेदक अन्योलमा परेका कारण अन्तिम समयमा आवेदन दिनेको चाप बढेको हो। संसदीय समितिको निर्देशनपछिको १–२ दिन निकै कम आवेदन परेका थिए। अहिले अवघि सकिन लाग्दा फाराम भर्नेको संख्यामा वृद्धि भएका पाइएको छ।
फाराम भर्ने समय सकिन लाग्दा आवेदन दिनेको संख्यामा वृद्धि भएको आयोगका प्रवक्ता शर्माले बताउनुभयो। उहाँका अनुसार अहिले प्रतिमिनेट सय जनाले फाराम भरिरहेका छन्। एक साताअघि एकैपटक धेरै संख्याले फाराम भर्दा आयोगको सर्भरमा चाप देखिएको थियो। एकै पटकमा धेरै जनाले फाराम भर्दा सर्भरमा पनि बेलाबेलामा प्राविधिक समस्या आउने गरेको छ। आयोगले विगत तीन वर्षदेखि अनलाइन फाराम शुरू गरेको हो।
आइतबार अनलाइन फाराम भर्न सर्भरमा खासै समस्या नदेखिएकाले फाराम भर्ने काम सहजरूपमा भएको आयोगका प्रवक्ता शर्माले जानकारी दिनुभयो। अझै एक सातामा फाराम भर्ने समय भएकाले संख्यामा वृद्धि हुने आयोगको अनुमान रहेको छ। कर्मचारी भर्नासम्बन्धी मुद्दासमेत सर्वोच्च अदालतमा विचाराधीन छ।
प्रतिक्रिया