चार जनाविरुद्ध मुद्दा दायर


काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी भोक्राहा सुनसरीका प्रहरी सहायक निरीक्षक पदम बहादुर कटुवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगको कार्यालय इटहरीबाट खटिई गएको टोलीले शनिवार सेवाग्राहीसँग सात हजार घूस लिँदै गरेको अवस्थामा कार्यालय परिसरबाटै पक्राउ गरि आईतवार मुद्दा दायर गरेको हो ।

कटुवालले सेवाग्राहीलाई वन मन्त्रालयबाट आएको पक्राउ पुर्जी मिलाईदिने भन्दै घूस रकम माग गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

आयोगले नापी कार्यालय साँखु, काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीविरुद्धसमेत मुद्दा दायर गरेको छ । उनीहरुले जग्गा हालसाविक गरिदिने भन्दै सेवाग्राहीसंग घूस रकम लिएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता कोइरालाले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई सो कामको लागि उनीहरुले सेवाग्राहीसँग एक लाख पचास हजार घूस लिईसकेको अवस्थामा पक्राउ गरि मुद्दा दायर गरिएको हो ।

उनीहरुलाई एक लाख पचास हजार जरिवाना कायम गरि कानून अनुसारको कैद सजायको मागसहित मुद्दा दायर गरिएको छ ।
यसैगरि आयोगले महोत्तरीको एकडारा गाउँपालिका– ४, का निर्वाचित वडा सदस्य राम चन्द्र राय (यादव) विरुद्द मुद्दा दायर गरेको छ । आयोगले यादवलाई गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गरिदिने भन्दै सेवाग्राहीसंग घूस रकम लिएको भन्दै मुद्दा दायर गरेको हो ।

यादवलाई आयोगको कार्यालय बर्दिवास, महोत्तरीबाट खटिइ गएको टोलीले सेवाग्राहीसँग छत्तीस हजार घूस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । उनलाई पदीय दायित्वसमेतको ख्याल नगरेको भन्दै छत्तीस हजार जरिवाना र कानून अनुसारको कारवाहीको माग गरि मुद्दा दायर गरिएको छ ।