परम्परा तोड्दै रातो पहिरनमा एकल महिला


रामचन्द्र वि.क., रामेछाप ।
परम्परालाई तोड्दै रामेछापका एकल महिलाहरु रातो पहिरनमा सजिएका छन् । रामेछापको मन्थली नगरपालिका वडा नं. १ का महिलाहरुले आइतबार नवौं अन्तराष्ट्रिय एकल महिला दिवसको अबसर पारेर एकल महिलाका लागि समाजले अस्वीकार गर्दै आएको रातो पहिरन लगाएर परम्परालाई तोड्ने प्रयासमा जुटेका हुन् ।

मानब अधिकारका लागि एकल महिला समूह रामेछापको आयोजना तथा मन्थली नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा वडाका ८८ जना एकल महिलाहरुलाई जन्म शिद्ध अधिकारका लागि रातो पहिरन भन्ने कुरालाई मध्यनजर गर्दै रातो पहिरन वितरण गरिएको वडा नम्बर १ का वडा अध्यक्ष नारायणदाश श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले समाजमा पछाडी पारिएका एकल महिलाका लागि पनि केहि गर्नुपर्छ भन्ने योजनाका रातो पहिरनबाट एकल महिला विषेश कार्यक्रमको सुरुवात गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि एकल महिलाहरुलाई आयमूलक र सिपमुलक तालिमका लागि वडाले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि समेत सहनुभएकी मन्थली नगरपालिकाकी उपप्रमुख माया कुमारीकार्कीले महिला र एकल महिलाहरुलाई धेरै सहयोग गर्ने मन हुँदा हुँदै पनि ऐन नियमको समस्याका कारण चाहेजती सहयोग गर्न नसके गुनासो गनुभयो । उहाँले आगमी दिनमा नगरपालिकाले प्याकेजकै रुपमा महिलामुखी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले एकल महिलाहरुमा हिनताबोध हुने काममा जागर नहुने एकल महिलाहरुले रातोपहिरन लगाउन नहुने जस्ता सामाजिक कुराहरुले ग्रस्त हाम्रो समाजको परम्परालाई तोड्न सबै जना लाग्नु पर्नेमा जोड दिनुभयो ।

मानब अधिकारका लागि एकल महिला समूहकी जिल्ला अध्यक्ष शान्ति कार्कीको अध्यक्षता एबं मन्थली नगरपालिकाकी उप प्रमुख माया कुमारी कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला एकल महिलाको क्षेत्रमा काम गर्ने क्रियाशिल महिलाहरुको समेत सहभागिता रहेको थियो ।