खेतबारीमा जथाभावी विषादीको प्रयोग, किसान नै अनविज्ञ


नेपाल समाचारपत्र, पर्वत ।
व्यिावसायिक तरकारी र फलफुल खेती गर्दै आएका पर्वत जिल्लाका किसानले खेतबारीमा बिना जानकारी जथाभावी रुपमा रासायनिक बिषादीको प्रयोग गर्दै आएको पाइएको छ ।

छिटो र अधिक उत्पादन गरी बढी लाभ लिने उद्देश्यले किसानले जथाभावी बिषादीको प्रयोग गर्दै आएको पाइएको हो । जथाभावी बिषादी प्रयोग गर्दा किसान आफैंलाई र उपभोक्तालाई गम्भीर असर पर्ने गरेको छ ।

अगुवा कृषकहरु बिषादीको प्रयोग र उत्पादित कृषि उपज बजार लैजानका लागि केही जानकार भएपनि धेरै किसानहरु यसको प्रयोग बारे नै अनबिज्ञ रहेको जलजला–८ फर्सेका अगुवा किसान राजन सापकोटा बताउनुहुन्छ । ‘बिषादीको प्रयोगबारे अधिकांशलाई थाहा छैन, ’ उहाँ भन्नुहुन्छ ‘केहीले थाहा पाएर पनि हेलचेक्र्याइँ गर्छन ।’

पर्वतको जलजला गाउँपालिका ८ फर्से ब्यबसायिक तरकारी खेतीका लागि जिल्लाकै सबैभन्दा अग्रणी क्षेत्र हो । यहाँका ७० परिवारले व्यावसायिक तरकारी खेती गर्दै आएका छन । ब्यबसायिक खेतीमा लागेका सबै कृषकले भने बिषादीको व्यवस्थित प्रयोग गर्दैनन् । कतिले बिषादीलाई पानीजस्तै ठानेर प्रयोग गरेलगत्तै तरकारी टिपेर बिक्री गर्छन्।’ ढुसीनाशक बिषादी तरकारीमा छरेपछि कम्तीमा ४९ दिन पर्खनुपर्छ । कसैले बिषादी छर्किंदा छर्किंदै बीचमै हिँड्ने गरेको पाइएको छ भने चर्को घाममा नहाल भन्दा पनि अटेर गर्दै आएको अनुभव अगुवा कृषक सापकोटा छ ।

फर्सेकै अर्का किसान दीपक केसीका अनुसार तरकारीमा बिषादी प्रयोग गर्दा मास्क, पञ्जा र अनुहार ढाक्ने गरी कपडा लगाउनुपर्छ । सबैलाई हतार भएकाले यस्ता कुरा थाहा भएर पनि प्रयोगमा आउन सकेका छैनन । ‘सचेतनाका कुरा जति सिकाए पनि भएन ।’ उहाँले भन्नुभयो‘कतिपय किसानले रोगकीराले आक्रमण गरेपछि बजारमा जुन पायो त्यही बिषादीको प्रयोग गर्दिने भएकाले समस्या छ।’

कृषि प्राबिधीकहरु तरकारीमा प्रयोग हुने बिषादीले मानव स्वास्थ्यमा तत्काल र दीर्घकालीन असर पार्ने बताउँछन । जथाभावी बिषादी प्रयोग गर्ने कृसानबाट जन्मिने सन्तान अपांग हुने सम्भावना बढी हुन्छ । नेपालमा सूचीकृत गरिएका बिषादीको संख्या १ सय ३९ प्रकारका छन्। बिषादीको असर कृषिउपजको उत्पादकत्व र वृद्धिको अनुपातका आधारमा हुन्छ ।

छिटो बढ्ने बालीमा असर छिटो सकिने र ढिलो बढ्ने बालीमाबिषादीको असर ढिलैसम्म रहन्छ । बालीको उत्पादन समयलाई आधार मानेर बिषादीको प्रयोग गर्नुपर्ने भए पनि किसानले ख्याल नर्पुयाउँदा असर पर्ने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मीले बताउनुभयो । ‘तत्काल असर देखिंदैन भनेर बिषादी हालेको एक दुई दिनमै टिपेर बजार लैजान्छन,’ प्रमुख रेग्मी भन्नुहुन्छ ‘त्यसले उपभोक्तालाई भन्दा किसानलाई बढी असर गर्छ ।’ सबैजसो बिषादीको प्रगोगपछि पर्खनुपर्ने समय ३ दिनदेखि ३ महिनासम्म हुन्छ ।