गर्मीका कारण तराई मधेश हायलकायल


कृष्णउदास खनाल, वीरगन्ज ।
विगत एक महिनादेखि लगातार बढेको गर्मी र तातो हावा ‘लू’ ले यहाँको जनताको जीवन दिन प्रती दिन कष्टकर बन्दै गइरहेको छ । अत्याधिक गर्मी र तातो हावा ‘लू’ का कारण स्वास्थ्य समस्यासँग तराई–मधेशका बासिन्दा चिन्ति छन् । यसबाट सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन् ।

गर्मीसँगै तातो हावा ‘लू’ चलेका कारण जिल्लामा अधिकांशमा स्वास्थ्य समस्या र छालासम्बन्धी समस्या देखा परेको छ । वीरगन्जको नारायण अस्पतालको तथ्याङ्ग अनुसार गर्मीका कारण विगतको तुलनामा यस वर्ष ५० प्रतिशत बिरामीहरुको चाप बढेको छ ।

गर्मीका कारण अस्पतालमा आउने विरामीहरुमा टाइफाइड, झाडापखाला, भाइरल फ्लु, पेटको दुखाइ, रुघाखोकी, वान्ता हुने, जन्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा हुने, आँखा चिलाउने, धागो जस्ता चिरा आउने, एलर्जिक कन्जफ्टाइभाइटिस तथा आँखाको सङ्क्रमण देखापरेको बालविशेषज्ञ डा. श्यामबाबु साहले जानकारी दिनुभयो ।

एक दुई महिना यता गर्मी बढेसँगै विरामीहरुको संख्या बढ्दै गएको छ, गत चैत्रमा ५० देखि ७० जना उपचार गराउन आउँनेको संख्यामा बृद्धिसँगै अहिले १ सय ३० देखि १ सय ५० जना विरामीहरु उपचारको लागि आउँने गरेको चिकित्सक साहले बताउनुभयो । गर्मीकै कारण अस्पतालमा छाला सम्बन्धी विरामीहरुको समेच चाप बढेको छ । तर, अस्पतालका दुईजना चिकित्सक डा. अतुलेश चौरसिया र डा. अनु अग्रवाल विदामा भएका कारण दैनिक १ सय ५० भन्दाबढी विरामीहरु फिर्ता हुने गरेका छन् ।

अन्य वर्षको तुलनामा यस वर्ष प्रचण्ड गर्मी र तातो हावाले तराईको जनजीवन बढी प्रभावित भएको छ । तापक्रम विगत ३ सातादेखि ४१ देखि ४४ डिग्री सेल्सियसको आसपासमा छ । यद्यपी आइतबार हल्का बर्षा भएका कारण केही राहत महसुस भएको छ । पानीको सतह सुक्दै गएपछि खानेपानी र उपकरण बिग्रिरहँदा विद्युत् आपूर्तिमा समस्या छ ।

काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फीलगायतका चिसो तथा पेय पदार्थको अत्यधिक उपभोग भई आपूर्तिमा समस्या आएको छ । जलवायु परिवर्तनका कारण लामखुट्टेको समेत प्रकोप बढेपनि महानगरपालिकाले नियन्त्रण गर्न सकेको छैन ।अत्याधिक गर्मी बढेको बेला नै नेपाल विद्युत प्राधिकरणले पटक पटक लाइन काट्ी दिने गरेका कारण नगरवासी झन आजित बनेका छन् । खासगरि राति सुतेकै बेलामा अचानक लाइन कट्दा निन्द्रा नै भंग भई रातभर सुत्न पनि नपाएको वीरगन्ज नगरवासीले गुनासो गरेका छन् ।