डोटीमा प्रहरीद्धारा गाँजा नष्ट


डोटी । जिल्लामा पछिल्लो समय स्थानीयवासी तथा नेपाल प्रहरीको संयुक्त प्रयासमा गाँजा (भाङ) नष्ट गरिएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका– २ को रिखडा तथा बग्लेख गाउँमा उम्रिएका गाँजा स्थानीय तथा प्रहरीको संयुक्त टोलीले नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय लडागडाका प्रमुख रुपसिंह थापाको नेतृत्वमा गएको प्रहरी टोली, स्थानीयवासी तथा पूर्वीचौकी गाउँपालिका–२ मा रहेको वाराहीदेवी आधारभूत विद्यालयका विद्यार्थीले उक्त गाँजा नष्ट गरेका हुन् । करीब तीन देखि ४ रोपनी खेतमा उम्रिएको उक्त गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो ।

खेतबारीमा उम्रीएको उक्त गाँजाका पारखी दिनानुदिन बढ्न थालेको खबर आएपछि प्रहरीले गाँजा नष्ट गर्न थालेको हो । त्यस्तै प्रहरीले जिल्लाको जोरायल क्षेत्रमा उम्रिएको गाँजा गाउँपालिका शिक्षा इकाई, इलाका प्रहरी कार्यालय जोरायल, जगदम्बा आधारभूत विद्यालय काफलीका शिक्षक तथा विद्यार्थीको टोलीले आजदेखि नष्ट गरेको छ ।

करीब १५ रोपनी जमीनमा उम्रिएको गाँजा नष्ट गरेको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख प्रहरी नायब निरीक्षक सुरज खड्काले बताउनुभयो । साथै सो टोलीले उक्त गाउँपालिकाका अन्य क्षेत्रमा उम्र्रिएको गाँजा पनि नष्ट गर्ने भएको छ ।
डोटीमा गाँजा (भाङ) को खेती नगरिने भए पनि खेतमा वर्षेनी आफै उम्रिने गरेको स्थानीय शिक्षक विजयप्रकाश मल्लले बताउनुभयो । प्रहरीले डोटीमा गाँजा (भाङ) खाने तथा बेचबिखन गर्नेलाई कडा कारवाही गर्दै आएको छ ।