निर्मला हत्याकाण्डः पाँच प्रहरीका नाममा यातनाविरुद्धको मुद्दा दायर


कञ्चनपुर ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्याकाण्डमा पाँच जना प्रहरीविरुद्ध मुद्दा दर्ता भएको छ । निर्मला हत्याकाण्डमा गत मंसिर १९ गते पक्राउ परेका भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय विशाल चौधरीले मुद्दा दर्ता गरेका हुन् । विशाललाई प्रहरीले १७ दिन हिरासतमा राखेर रिहा गरिसकेको थियो ।

प्रहरी हिरासतबाट छुटेको ६ महिनापछि उनले अधिकारकर्मीको सहयोगमा यातनाविरुद्धको उजुरी दिएका हुन् ।

विशालले हिरासतका बेला यातना दिएको भन्दै तत्कालीन प्रहरी प्रमुख कुबेर कडायतसहित अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक प्रवक्ता कृष्ण राज ओझा, विशेष अनुसन्धानका लागि खटिएकी एसपी दुर्गा सिंह चन्द र नाम नखुलाइएका अन्य दुई जना प्रहरीविरुद्ध उजुरी दर्ता गरिएको स्रोतले जनाएको छ ।

चौधरीले बिहीबार नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न खोजे पनि प्रहरी मुद्दा दर्ता मानेको थिएन । प्रहरीले मुद्दाको हद म्याद नाघिसकेको र आफ्नो कार्यक्षेत्र अधिकार बाहिर रहेकाले उजुरी दर्ता नगर्ने बताएपछि चौधरीले शुक्रबार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ को १ अन्तर्गत सरकारी वकिलको कार्यालयमा पुगेर उजुरी निवेदन दिएका हुन् ।

सरकारी वकिल कार्यालयबाट पत्र आएपछि प्रहरीले मुद्दा दर्ता गरेको हो । चौधरीको निवेदनको आधारमा मुद्दा दर्ता आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।