२०४७ सालको संविधानको माग गर्दै खवरदारी सभा


काठमाडौँ ।
२०४७ सालको संविधान व्यूँताउनुपर्ने माग गर्दै आज काठमाडौंमा खवरदारी सभा गरिएको छ । स्वतन्त्र नागरिक मञ्चको आयोजनामा रत्नपार्कमा भएको सभामा संयोजक हेमबिक्रम सिलवालले जनताको चाहना अनुसार आफूहरुले अभियान थालेको बताउनुभयो । सिलवालले देश अहिले ठुलो संकटमा परेकाले बचाउने दायित्व सबैको भएको बताउनुभयो ।

‘मलाई देशको चिन्ता छ , शासन गर्नेहरुले देशको नाममात्र बेचेर खाए’ सिलवालले भन्नुभयो ‘ अब यो पार्टी र त्यो पार्टी नभनी देश जोगाउनुपर्ने बेला आएको छ ।’ मञ्चले प्रत्येक शुक्रबार रत्नपार्कमा कार्यक्रम गर्दै आएको छ । उहाँले उपत्यकासहित नेपालगञ्ज, जुम्ला, धनगढी, बुटवल, बिराटनगर, बीरगञ्जलगायतका ठाउँमा सभा गरिँदै आएको बताउनुभयो । २०७४ मंसीर १ गते मञ्चको स्थापना भएको हो ।

मञ्चले २०७२ सालमा बनेको संविधान विभेदकारी भएको भन्दै खारेजीको माग गरेको छ । उसले सबै राजनीतिक शक्तिहरुको सहमतिमा राजनीतिको विकल्प खोजिनुपर्ने जनाएको छ । मञ्चले सरकारले संसद सचिवालयमा दर्ता गरेका राष्ट्रघाती विधेयक पनि फिर्ता लिन सरकारसँग माग गरेको छ । कार्यक्रममा राष्ट्रवादी नागरिक समाजका केन्द्रीय सदस्य थर्कबहादुर बस्नेतले सरकारको गलत गतिविधिले देश संकटमा परेको बताउनुभयो । उहाँले सरकारले जनमतको कदर गर्न नसकेको पनि आरोप लगाउनुभयो । मञ्चले हिन्दु अधिराज्य पुनस्र्थापना गर्नुपर्ने अडान राखेको छ ।

‘जनताको केही पनि काम भएको छैन, केही राहत पाउनुको साटो उल्टै आहत पाएका छन्’ बस्नेतले भन्नुभयो ‘ विधिको शासन छैन, व्यक्तिको शासन भएकाले यो अवस्था आयो ।’ कार्यक्रममा वरिष्ठ अधिवक्ता विष्णुप्रसाद भट्टराई, पत्रकार प्रेम कैदीलगायतले पनि बोल्नुभएको थियो ।