बर्डफ्लु क्षतिपूर्तिवापत ४ करोड ४२ लाख


हेटौंडा ।
मकवानपुरमा बर्डफ्लु घोषणा गरी मारिएका कुखुरा पाल्ने किसानले सोमबार क्षतिपूर्ति पाउने भएका छन् । बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समिति मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरको नेतृत्वमा सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लुबाट पीडित किसानलाई पशुसेवा विभागबाट आएको क्षतिपूर्ति रकम बितरण गर्ने निर्णय गरेको हो । वडा नम्बर–७, ८, १६ र १७ का ५४ किसानले क्षतिपूर्ति पाउने भएका हुन् ।

केही समयअघि हेटौंडाका विभिन्न वडामा बर्डफ्लु रोग कुखुरामा देखिएको भन्दै प्रशासनले उचित क्षतिपूर्ति दिने गरी कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो । विभिन्न समयमा प्रशासनले ६६ हजार ५ सय ४६ वटा कुखुरा नष्ट गरेको थियो ।

पशुसेवा विभागले कुखुरा नष्ट गरेबापत् किसानलाई क्षतिपूर्ति रकम पठाएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवम् संरक्षण केन्द्र मकवानपुरमार्फत् किसानलाई उक्त रकम बितरण गर्ने बैठकले निर्णय गरेको छ ।

क्षतिपूर्ति रकमबापत् ४ करोड ४२ लाख प्राप्त भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । उक्त रकम किसानले माग गरेको रकमको ७५ प्रतिशत् हो । किसानले एउटा कुखुरा नष्ट गरेबापत् ९ सय ४ रुपियाँ माग गरेकोमा पशुसेवा विभागले ६ सय ७५ रुपियाँ दिने निर्णय गरेको हो ।

मकवानपुर कुखुरा व्यबसायी संघले जिउँदो लेयर्स प्रतिगोटा ९ सय, ब्रोइलर ४ सय, दाना प्रतिकेजी ६५ रुपियाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ मूल्य निर्धारण गरी जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई पत्र बुझाएको थियो ।

नष्ट गरिएका पक्षी तथा पक्षीजन्य पदार्थको क्षतिपूर्तिको दररेट निर्धारण गर्न वर्डफ्ल नियन्त्रण आदेश, २०६४ बमोजिम क्षतिपूर्तिका लागि पशुसेवा विभागमा सिफारिस गरिएको थियो । संक्रमित क्षेत्रका किसानले ७ करोड लागतमा एक लाख कुखुरापालन गरेका थिए ।

काठमाडौंबाट आएको पशुचिकित्सक, प्राविधिक र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडाका प्राविधिहरुले कुखुरा खाल्डोमा पुरेर नष्ट गरेका हुन् । बर्डफ्लु देखा परेपछि बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकको निर्णयअनुसार कुखुरा नष्ट गर्ने अभियान थालिएको थियो ।

नागस्वतीका व्यावसायिक लेयर्स फर्मलाई केन्द्र मानी पूर्वतर्फ वडा नम्बर–६ र ७ को सिमाना, पश्चिममा बनदेवी मन्दिर जानेबाटोको पूर्वी सिमाना, उत्तरमा बनदेवी दुग्ध सहकारीको सिमाना बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सिमानाको परिधिभित्रका कुखुरा नष्ट गरिएको थियो । मकवानपुरमा ३ हजार कुखुरा व्यबसायी छन् ।

मकवानपुरमा २०६९ साउन ३१ गते कुखुरामा बर्डफ्लुका जीवाणु फेला पर्दा ११ हजार कुखुरा मारिएको थियो । किसानले प्रतिकुखुरा दुई सय ८० रुपियाँ क्षतिपूर्ति पाएका थिए ।