नदीले बस्ती कटान गर्न थालेपछि राडीबजार जोखिममा


धनवीर दाहाल, रुकुम ।
नदीले बस्ती कटान गर्दै गएपछि रुकुम पश्चिमको आठबिसकोट राडी बजार जोखिममा परेको छ । आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको बिचबाट बगीरहेको ठुलीभेरी नदीले धार परिवर्तन गरेकोले आठबिसकोट नगरपालिकाको राडी बजार क्षेत्रका केही खेती योग्य जमिन समेत कटान गरेको छ । नदीले कटान गर्न सक्ने संभाबित ठाँउहरुमा तटबन्द निर्माण गर्न स्थानीयले माग गरेका छन् ।

नगरपालिकाको सिम बजारमा सिम खोलाले हरेक वर्ष कटान गरिरहेको र राडीबजार तर्फको खेतीयोग्य जमिन पनि ठुलीभेरी नदीले कटान गर्न थालेकोले तटबन्ध निर्माण गरी कटान रोक्न स्थानीयले सरकारसमक्ष माग गरेका छन् । यस बर्ष बर्षात अगावै तटबन्द निमार्ण नभएपछि बजार नै जोखिममा पर्ने सक्ने खतरा बढेको स्थानीय जोखबहादुर शाहले बताउनुभयो । नगरपालिकाले भने केही ठाँउहरुमा तटबन्द निर्माण गरिरहेको बताएको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गरी कटान हुन सक्ने क्षेत्रको संरक्षण गरिने नगरप्रमुख गोरखबहादुर के.सीले बताउनुभयो । प्रकोप सँग सम्बन्धीत सरोकारावालासँगको समन्वयमा तटबन्ध निर्माण तथा तारजाली लगाउने काम गरिने नगरप्रमुख के.सीले बताउनुभयो । गत बर्ष बर्षातको समयमा आठबिसकोट नगरपालिका कार्यालय समेत सिमखोलामा आएको बाढीका कारण क्षति पुगेको थियो । यसबर्ष सो क्षेत्रमा केही तटबन्दहरु भने लगाइएको छ ।