माओवादी लडाकु हिड्ने बाटोे गुरिल्ला पदमार्ग बन्दै


धनवीर दाहाल, रुकुम ।
तत्कालिन बिद्रोही माओबादीको उद्गम स्थल हो रुकुम । रुकुमका अधिकांश डाँडाकाँँडा र बनजंगलहरुमा माओबादी लडाकुको तालिम केन्द्रहरु हुन्थे भने सो क्षेत्रमा उनीहरु हिड्ने बाटो हुन्थ्यो । सोही बाटो यतिबेला गरिल्ला पदमार्गको रुपमा विकास गर्न थालिएको छ ।

तत्कालिन बिद्रोही माओबादीका लडाकु हिड्ने रुकुमको महत, रोल्पाको थवाङ, म्याग्दी, बाग्लुङ, रोल्पाको–जलजला–मारिङ–रुकुमको लुकुम–काँक्री हुँदै खावाङ लगाएता ठाँउको बाटो भएर हिड्ने गर्थे । सोही बाटोलाई युद्ध पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने उद्धेश्यका साथ स्थानीय तहहरुले बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु गर्दै आएका छन् ।

रुकुम पुर्वको भूमे गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि विगतमा गुरिल्ला दौडिएको बाटोमा गुरिल्ला अल्ट्रा दौड प्रतियोगिता गरेको छ । दोस्रो गुरिल्ला अल्ट्रा दौड प्रतियोगिता आयोजना गरेको गाउँपालिकाले ३४ पुरुष र १६ महिला खेलाडीलाई गुरिल्ला हिँडेको बाटोमा दौडाएको हो । रुकुमपूर्व र रोल्पा जिल्लालाई समेटेर रुट तय गरिएको थियो । १० वर्षसम्म माओवादी लडाकु हिँडेको बाटैबाटो धावकलाई दौडाउनुको उद्देश्य पर्यटनको विकासमा टेवा र्पुयाउनु भएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।

सो प्रतियोगिाबाट स्थानीय संस्कृति, जनजीवन, भूगोल तथा ऐतिहासिक क्षेत्रको प्रचार पनि हुने विश्वास गरिएको अध्यक्ष बुढाको भनाई छ । भूमे गाउँपालिका–६ को महतबाट सुरु भएको दौड रोल्पाको थवाङबाट जलजला पुगेर फेरि थवाङबाट रुकुमपूर्व भूमेको मारिङ लेक, लकुम, काँक्री हुँदै खावाङ बगरस्थित भूमे गाउँपालिकामा आएर सकिएको थियो ।

खेलाडीको हौसलाका लागि अन्तर्राष्ट्रिय अल्ट्रा धाविका मीरा राईले पनि दौडेर साथ दिनुभएको थियो । ५२ किलोमिटर लामो रुटमा ३३ पुरुष धावकलाई पछि पार्दै रुकुम पश्चिमका दुर्गाराज बुढा प्रथम हुनुभयो  । ६ घण्टा १५ मिनेट १५ सेकेन्डमा उहाँले निर्धारित दूरी पार गर्नुभएको थियो । यसै गरी सोलुखुम्बुका सुमन कुलुङले निर्धारित दूरी ६ घण्टा २८ मिनेट २८ सेकेन्डमा पार गरी दोस्रो हुनुभएको छ । ६ घण्टा ४९ मिनेट ४ सेकेन्डबाट रुकुमपूर्वका मुहन केसी तेस्रो बन्न सफल हुनुभयो ।

यस्तै महिलातर्फ प्यूठानकी हुमी बुढा मगर पहिलो बन्दा धादिङकी रसिला तामाङ दोस्रो हुनुभयो । हुमीले ७ घण्टा १८ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा रसिलाले ७ घण्टा २० मिनेट ३८ सेकेन्डमा दूरी पार गर्नुभयो । भोजपुरकी अनिता राईले ७ घण्टा २५ मिनेट २९ सेकेन्डमा दूरी पार गरी तेस्रो हुनुभयो । दुवैका विजेताले ५०, दोस्रोले ३५ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको भुमे गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।