गुण नियन्त्रण विभागका महानिर्देशकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


नेपाल समाचारपत्र, काठमाडौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार कर्णसमेत १३ जना उपर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक कर्णसमेतलाई बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट खरिद गरिएको चारवटा प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा कमिशन खाएर भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

उनीहरुले आफ्नो स्वार्थमा नेपाल सरकारलाई हानिनोक्सानी र्पुयाई चार थान प्रयोगशाला मोबाइल भ्यानको भुक्तानी दिने गरी दुइ पटकमा जम्मा २४ करोड ८० लाख ९५ हजार ११६ रुपैया हिनामिना गरेको समेत किटान गरिएको छ ।

आयोगले आरोपपत्र दायर गरेकाहरुमा कर्णसहित, बरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रविता श्रेष्ठ, नायब सुब्बा गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटारका उपसचिव ९लेखा० गणेश प्रसाद चालिसे, लेखापाल बालाराम पोख्रेल, तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, बरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारी, बरिष्ठ योजना अधिकृत तिलकराज चौलागाई, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल र बरिष्ठ अनुगमन मूल्याङ्कन अधिकृत इन्द्रहरि पौडेल र प्रविण कुँवर कुँवर रहेका छन् ।

कर्ण लगायतले भ्यान कार्यालयमा प्राप्त भएको भनी प्रगति देखाई रकम भुक्तानी गरेको, भ्यानको स्वीकृत मापदण्ड नपुगी सार्वजनिक ऐन नियमको उल्लंघन गरी अनियमितता गरेको आरोप लगाइएको छ ।