कम्युनिस्टले चाहेजस्तो संघीयता आएनः मोहन वैद्य


हेटौंडा ।
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका केन्द्रीय महासचिव मोहन वैद्य (किरण) ले संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताउनुभएको छ ।

न्युज क्लब नेपाल हेटौंडामा बिहीबार पत्रकार आयोजित सम्मेलनमा महासचिव वैद्यले नेपाली कम्युनिष्टले चाहेको पहिचानसहितको संघीयता नआएको दाबी गर्नुभयो । १५ खर्ब बराबरको बजेट ल्याउने केन्द्र सरकारले सात प्रदेशमा करिब २ खर्ब बराबरको बजेटमात्र बनाउने नीति अख्तियार गर्नुले केन्द्र सरकार, स्थानीय तथा प्रदेश सरकारप्रति कति अनुदार छ भन्ने प्रष्ट भएको उहाँले दाबी गर्नुभयो ।

आफूहरुले पहिचानसहितको संघीयताको परिकल्पना गरेकोमा हाल भुगोलका आधारमा संघीयता लागु गरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । विप्लव नेतृत्वको पार्टीसँग एकताको विषयमा पत्रकारले राखेको जिज्ञासामा वैद्यले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताउनुभयो । उहाँले भन्नुभयो–आजकल विप्लवजीको पार्टी र हाम्रो पार्टीको वैचारिक दृष्टि फरक हुँदै गएको छ । उहाँहरु र हामीहरु टाढा हुँदै गएका छौं ।

महासचिव वैद्यले आफ्नो पार्टीसँग वैचारिक र राजनीतिकरुपमा मेल खानेहरुसँग एकता प्रक्रिया अघि बढाउने प्रयास भइरहे पनि विप्लवसँग भने एकता प्रक्रिया अघि नबढ्ने स्पष्ट पार्नुभयो ।

सरकारले आफूनिकट संसदीय दल तथा पार्टीमा आन्तरिक छलफल नगरी विधेयकहरु धमाधम ल्याउने काम गरेको भन्दै उहाँले सरकार फाँसीवादतर्फ उन्मुख भएको आरोप लगाउनुभयो । बिनातयारी तथा छलफल ल्याइएको गुठी विधेयक फिर्ता गर्नुपरेको उदाहरण दिँदै उहाँले मिडिया काउन्सिल विधेयक पनि फिर्ता गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वर्तमान सरकारको गतिविधिबारे आफ्नो पार्टी सन्तुष्ट नरहेको उहाँले बताउनुभयो । सरकारले दुई तिहाइको दम्भ देखाएर शान्ति प्रक्रिया पूरा गर्न नसकेको, स्थिर सरकार अझै निर्माण नभएको, जनयुद्धका जवानहरुलाई बिस्थापित गरिएको र सरकारले शहीदको बलिदानको अपमान गरेको उहाँले बताउनुभयो ।

देशको सीमा मिचिँदासमेत सरकारले केही गर्न नसकेको उहाँको भनाइ छ । उहाँले भारतले बनाएको नेपालको नक्सा अझ प्रयोगमा रहेको भन्दै गुनासो गर्नुभयो ।

नेकपा क्रान्तिकारी माओवादीनिकट युवाहरुको संगठन क्रान्तिकारी युवा लिग नेपालको पहिलो केन्द्रीय अधिवेशनको सन्दर्भमा हेटौंडा आउनुभएका महासचिव वैद्यले शुक्रबारबाट हेटौंडामा दुई दिन चल्ने केन्द्रीय अधिवेशनलाई सम्बोधन तथा प्रशिक्षण दिने बताइएको छ ।