व्यवहारिक सीपतर्फ युवाहरुको आर्कषण बढ्यो


धनवीर दाहाल, रुकुम ।
बेरोजगारी समस्याले विभिन्न खाडि मुलुक जानुपर्ने युवा युवतीको बाध्यता छ । तर बिभिन्न व्यवहारिक ज्ञान हासिल गर्ने हो भने गाँउघरमै रोजगार पाइन्छ भन्ने सन्देश रुकुमका युवा युवतीले दिएका छन् । हाउस वाइरिङ, कुक, मोवाइल मर्मत लगाएका कक्षा संचालन भएपछि युवा युवतीको आर्कषण त्यतातिर छ ।

बेरोजगार अवस्थामा घरमै बसिरहेका युवायुवतिहरुले व्यवहारिक शिक्षा सिक्न थालेका छन् । रुकुम पश्चिमका ६ वटै स्थानीय तहमा बेरोजगार युवायुवतिका लागी व्यवहारिक कक्षा संचालन गरिएको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजनाद्धारा जिल्लामा कुक, मोवाइल मर्मत, हाउस वाइरिङका विषयमा कक्षा संचालन गरेको छ । ३९० घन्टाको सो कक्षामा सहभागी भएका प्रशिक्षार्थीहरु यस्तो व्यवहारिक शिक्षा हासिल पछि रोजगार पाइनेमा बिश्वस्त छन् ।

जव ओरिन्टेड टेक्नीकल इन्सिटच्युट प्रालिको आयोजनामा संचालन गरिएको व्यवहारिक शिक्षाको कक्षामा दलित, जनजाति, महिला तथा गरिव एवं पिछडिएका क्षेत्रबाट छनौट गरिएको हो । बेरोजगार युवायुवतीलाई रोजगारमा समाबेश गराउने लक्ष्यका साथ यस्तो कार्यक्रम संचालन गरिएको जव ओरिन्टेड टेक्नीकल इन्सिटच्युट प्रालिका जिल्ला संयोजक रामबहादुर पुनले बताउनुभयो । उच्च शिक्षा हासिल गरेर पनि घरमै बेरोजगार भएका यी युवा युवतीका लागि व्यवहारिक शिक्षाले रोजगार प्राप्तिका लागी थप मद्दत गर्ने विश्वास गरिएको छ ।