मन्त्रिपरिषद् तत्काल पुनर्गठन हुनसक्छः अध्यक्ष प्रचण्ड

0
Shares

नेपाल समाचारपत्र, पोखरा ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन्।

कास्कीको पोखरामा बिहीबार विहान पत्रकारहरूसँग कुराकानी गर्दै दाहालले बजेट सार्वजनिक भइसकेपछि सरकार केही न केही रुपमा पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको बताए।

उनले भने, ‘बजेटपछि सरकार केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट दुई अध्यक्षबीच छलफल भएको छ । यहाँबाट फर्केपछि दुई अध्यक्षका बीचमा अरु यावत विषय टुङ्ग्याउने ढङ्गले कुरा हुन्छ, त्यसपछि मात्र ठोसरुपमा भन्न सकिन्छ, अहिले नै पुनर्गठनको निर्णयमा पुगिएको छैन भने ।’

उनले सरकार र पार्टी सञ्चालनमा भएको विषयमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेको विषय भएकाले आफूले बोलेको कुरा कुनै नौलो विषय नभएको बताए। अध्यक्ष दाहालले आफूले पहिलेको सहमतिनै संस्मरणमात्रै गरेको र नयाँ ढंगको सहमति बन्यो भने यही सरकार नै ५ वर्ष नै चल्न सक्ने अभिव्यक्ति दिएको बताए।

अध्यक्ष प्रचण्डले सरकारका काम प्रभावकारी बनाउन छलफल भइरहेको चर्चागर्दै पहिलो वर्षलाई आधार वर्षका रुपमा लिदै यस अवधिमा संवैधानिक, कानूनी एवं विकास पूर्वाधारका काम अघि बढेको बताए । यस अवधिमा छिमेकीसँगको सम्बन्धमा समेत महत्वपूर्ण उपलब्धि भएको उनले बताए ।

वर्तमान परिवर्तन विगतको जस्तो मात्रात्मक परिवर्तन मात्र नभएको बताउँदै उनले व्यवस्थामा नै परिवर्तन भएका कारण केही मात्रामा जटिलता आउनु स्वभाविक भएको धारणा व्यक्त गरे । अध्यक्ष प्रचण्डले सरकारको यस वर्षको नीति तथा कार्यक्रम एवं बजेट उत्साहप्रद र सन्तुलित भएको बताए ।