डोटीको बडीकेदारमा दिनहुँ बढ्दै बालविवाह



विमल विष्ट, डोटी ।

डोटी जिल्लाको बडीकेदार गाउँपालिका–२ की सर्मिला (नाम परिवर्तन) को बिहे वैशाख ४ गते सोही गाउँपालिका वडा नं. ४ मान्नाकापडीका केशब घामी (नाम परिवर्तन) संङ्ग भयो ।

सर्मितलाको उमेर १५ बर्ष र केशवको उमेर १९ बर्ष मात्रै छ ।
सामाजिक सञ्जालबाटै प्रेम सम्वन्धमा परेका सर्मिला र केशवलाई अभिभावकहरुले नै विहे गराई दिए । वैशाखमै बडीकेदार–२ कै महिमा बोहरा (नाम परिवर्तन) को बिहे मान्नाकापडीका रमेश (नाम परिवर्तन) संङ्ग भयो । महिमा १६ र रमेश १८ बर्ष मात्र भएका छन । उनीहरुले भागेर बिहे गरे । दुवैका परिवारले उनीहरुको बिहेलाई स्वीकृति दियो ।

बडीकेदार–४ का दिपक (नाम परिवर्तन) को सोही गाउँपालिका–५ कि उमा (नाम परिवर्तन) संग फोनबाटै प्रेम बस्यो । एक–अर्कालाई देख्दा पनि नदेखेका उनीहरु बिस्तारै सामाजिक सञ्जाल फेसबुकबाट संगै जीउने संगै मर्ने कसम खान थाले । अन्ततः उनीहरुले परिवारलाई सुईकोसम्म नदिई भागी बिहे गरे ।

उनीहरुको बिहेलाई परिवारले स्वीकार गरेको छैन । दिपक १७ बर्षका छन् भने उमा १४ बर्षकी मात्रै ।

मंङसिर यता मात्रै बडीकेदार गाउँपालिकामा मात्रै १८ जनाको बालबिवाह भएको सामाजिक कार्यकर्ता मुना मटेली वताउँनुभयो । “मोवाईल र समाजिक सञ्जालबाटै सम्वन्ध भएर सानै उमेरमा बिहे गरेर जाने गरेका छन” उहाँले भन्नुभयो, “यो भन्दा अगाडि पनि यस्ता धेरै घटनाहरु भए, त्यति ख्याल गरेकी थिईन तर मंसिर यता १८ जनाको बालविवाह भएको पाए ।” बालविवाह भएका अधिकांश जोडीमा पारिवारिक सम्वन्ध राम्रो नभएको समेत मटेली वताउँनुभयो ।

“कतिले भागेर बिहे गर्छन्, कतिको परिवारले नै बिहे गरेर पठाउँछन्” सामाजिक कार्यकर्ता मुना थप भन्नुहुन्छ, “अभिभावकहरुले बालविवाहलाई परम्परासँग जोडेर कुरा गर्छन्, यो राम्रो पक्ष होईन ।”

उहाँ बडीकेदार गाउँपालिकामा छाउँपडी प्रथा पनि धेरै मान्ने गरेको वताउँनुहुन्छ । जनप्रतिनिधिहरु स्वयं पनि छाउपडी गोठमा सुत्ने गरेको पाईएको उहाँको भनाई छ । सानै उमेरमा बालबालि–काहरुलाई मोवाईल फोन दिएर बालबालिकाहरुको मनस्थिति बिग्रेको बडीकेदार–४ मान्नाकापडीकी कृष्णादेवी मौनी बताउनुहुन्छ ।

उनी उहाँ भन्नुहुन्छ, “बच्चाहरु–लाई जस्तो वातावरण दियो त्यस्तै हुन्छन्, अभिभावकले पनि सानै उमेरमा बिहे गराईदिन खोज्छन्, यसले समाजमा नकारात्मक असर परेको छ ।” बडीकेदार–२ बर्छैनका जङ्गबहादुर मटेली बालबिवाह हुनुमा अभिभावकको कमजोरी रहेको बताउनुभयो ।

“मोवाईल त एक बहाना मात्रै हो, आफ्ना छोराछोरी के गर्दैछन् भन्ने कुरामा अभिभावक ध्यान दिदैनन्” उहाँले भन्नुभयो, “सानै उमेरमा बिहे भए खुशी मनाउने हाम्रो चलन छ, त्यसैले बाल बिबाहले प्रसय पायो ।”

आफ्ना सात छोराछोरी रहेको तर कसैले पनि २० बर्ष नपुगी बिहे नगरेको उहाँको दावी छ । उहाँ अनावश्यक कुरामा समय खर्चिनु भन्दा आफ्ना छोराछोरीको भविश्यप्रति ध्यान दिन आग्रह गनुहुन्छ ।

उता बडीकेदा गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले आफनो गाउँपालिमा हुने बल बिबाह अन्तकालागि लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बालबिबाह अन्तका लागि लागि परेकाछौँ,बाल बिबाह गर्ने परिवारलाई गाउँपालिकाले दिने सेवा सुबिधा रोक्ने छौँ ।”

प्रतिक्रिया दिनुहोस्