प्रभावित क्षेत्रका बासिन्दा र आयोजनाबीच सहमति, मध्यमोदीकोे सुरुङ्ग निर्माण कार्य सुचारु


नेपाल समाचारपत्र, पर्वत ।
पर्वतको मोदी गाउँपालिकामा निर्माणाधिन १४.५ मेघावाट क्षमताको मध्यमोदी जलबिद्युत आयोजनाको सुरुङ्ग निर्माण कार्य एक महिना पछि सुचारु भएको छ । चौधरी ग्रुपले निर्माण गरिरहेको आयोजना र प्रभावित क्षेत्रका स्थानियबासीका बिचमा क्षतिपुर्ती रकम थप गर्ने सहमति भएपछि अबरुद्ध निर्माण कार्य सुचारु भएको हो । क्षतिपुर्तीको रकम बढाउनु पर्ने माग गर्दै सुरुङ्ग निर्माण कार्यमा स्थानियबासीले अबरोध गरेपछि जेठ ८ गते देखि निर्माण कार्य डप्प थियो ।

जिल्ला प्रशासन कार्यालयमा आयोजना र प्रभावित क्षेत्रका बासिन्दाका बिचमा बुधबार भएको छलफलमा प्राबिधीक समितिले सिफारिस गरेको क्षतिपुर्ती रकममा २५ प्रतिशत बृद्धि गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले जानकारी दिनुभयो ।

‘प्राबिधीक समितिले सिफारिस गरेको क्षतिपुर्ती रकममा २५ प्रतिशत बृद्धि गरि प्रभावित स्थानियबासीलाई रकम दिने सहमति भएको छ ।’ प्रजिअ नेपालले भन्नुभयो ‘क्षतिपुर्ती रकम एक साताभित्र आयोजनाले भुक्तानी गर्नेछ’ क्षतिपुर्ती रकम लिएपछि स्थानियले अनिवार्य रुपमा आफ्ना घर मर्मत गर्नुपर्ने र निर्माणका क्रममा थप क्षति भएमा आयोजनाले क्षतिपुर्ती दिनुपर्ने सहमति पनि भएको छ ।

आयोेजनाको २ हजार ७ सय मिटर लामो सुरुङ्ग निर्माणका क्रममा बम बिष्फोटन गर्दा घर संरचनाहरुमा क्षति पुगेको भन्दै उचित क्षतिपुर्ती मागेर स्थानियबासीले सुरुङ्ग निर्माण कार्यमा अबरोध पु¥याउँदै आएका थिए । मोदी गाउँपालिका वडा नं १ र २ का ३० घरमा क्षति पुगेको प्रतिबेदन प्राबिधीक समितिले दिएको थियो । यस अघि प्राविधिक समितिले क्षतिपुर्ती सिफारिस गरेको थियो तर प्रभावित क्षेत्रका बासिन्दाले प्राबिधीक समितिले निर्धारण गरेको रकम थोरै भएको बताउँदै थप रकम दिन माग गर्दै आएका थिए । आयोजनाले भने घर निर्माणका क्रममा बिष्फोटनबाट कुनै क्षति नभएको र केही घरमा भूकम्प र स्थानिय भौगर्भिक अवस्थाका कारण सामान्य समस्या देखिएको रिर्पोट भूर्गभबिद्हरुले दिएको दाबी गर्दै आएको थियो ।

पर्वतको मोदीगाउँपालिका र कास्कीको अन्नपुर्ण गाउँपालिकामा निर्माण भैरहेको आयोजनाको २ हजार ७ सय मिटर सुरुङ्ग मध्ये २ हजार ५ सय मिटर भन्दा बढी सुरुङ्ग निर्माण कार्य सकिएको छ । स्थानियको पटक पटकको अबरोधले गएको मंसिर पछि निर्माण कार्य अघि बढ्न सकेको छैन । आयोजनाको निर्माण कार्य २०७१ मंसिरबाट. शुरु भएको थियो ।