कृषकको घरदैलोमा बाली उपचार शिविर


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको बाँफिकोट गाँउपालिकामा बालीको उपचार सम्बन्धी शिविर संचालन भएको छ । बाँफिकोट गाउँपालिका –४ छिन्खेतमा बाली उपचार शिविर सञ्चालन गरिएको हो । तरकारी बीउ उत्पादन केन्द्र चाँपाको सहयोगमा बाँफिकोट गाउँपालिका कृषि शाखाले बाली उपचार शिविर सञ्चालन गरेको हो । स्थानीय कृषकहरुले लगाएको तरकारी तथा फलफूल बालीमा रोगकिरा लागेपछि स्थानीय स्तरमै त्यसको उपचार गर्न शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाको कृषि शाखा कार्यालय छिन्खेतमा भएको शिविरमा स्थानीय कृषकहरुले रोगकिरा लागेका बालीका नमूना बोट ल्याएर विषेशज्ञलाई देखाएको सोही अनुसार विषादी उपलब्ध गराइएको बाँफिकोट गाउँपालिकाका कृषि शाखा संयोजक लोकेन्द्र ओलीले जानकारी दिनुभयो । विशेषगरी टमाटर, भान्टा, खुर्सानी लगायतका बालीमा रोगकिरा बढि देखिएको उहाँको भनाइ छ ।

‘तरकारीबालीमा ढुसी र व्याक्टेरियाजन्य रोगहरु देखिएको छ ।’ उहाँले भन्नुभयो,‘रोग अनुसार सबै कृषकहरुलाई निःशुल्क रुपमा विषादी उपलब्ध गराएका छौँ ।’ शिविरमा कृषि ज्ञान केन्द्र रुकुम पश्चिमका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले सेवा दिनुभएको थियो । शिविरमा आएका समस्याहरुमा सबैभन्दा बढि टमाटरमा पात खन्ने गेटुअप्सुलेट रोगको प्रकोप देखिएको बताइएको छ । शिविरमा एकसय बढि स्थानीय कृषकहरुले सेवा लिएका छन् ।

गाउँमै बाली उपचार शिविर सञ्चालन हुँदा कृषकहरु खुसी भएका छन् । घरछेउमै पहिलोपटक बाली उपचार शिविर सञ्चालन हुँदा आफूहरुको एग्रोभेटमा हुने खर्चबाट बच्नुका साथै राम्रो सल्लाह सुझाव समेत पाएको स्थानीय कृषक नरबहादुर चन्दले बताउनुभयो । आफूले लगाएको भान्टा र खुर्सानीमा देखिएको समस्याको पहिचान भएर पनि राम्रो विषादी पाएको उहाँले जानकारी दिनुभयो । शिविर सञ्चालन हुँदा आफूहरुको अनुभव आदानप्रदान गर्ने अवसर समेत मिलेको भन्दै स्थानीय कृषकहरु खुसी भएका छन् ।