पुरानो विमानस्थल लामीडाडाँमा परीक्षण उडान सफल


रामधन राई, खोटाङ ।
खोटाङको लामीडाँडास्थित विमानस्थल स्तरोन्नती पछिको परीक्षण उडान सफल बनेको छ । रावाबेंसी गाउँपालिकामा पर्ने जिल्लाकै पुरानो लामीडाँडा बिमानस्थलको परीक्षण उडान सफल बनेको हो ।

करिब साँढे दुई बर्ष अघिदेखि स्तरोन्नतीको कार्य थालिएको उक्त विमानस्थलमा धावनमार्ग तथा एप्रोन क्षेत्र कालोपत्रे गरिएको छ । स्तरोन्नती सकिएसँगै नेपाल नागरिक उडड्यान प्राधिकरणले मंगलबार समिट एयरको जहाजले सफल परीक्षण उडान गरेको हो ।

खोटाङसँगै ओखलढुंगा र सोलुखुम्बुको यात्रुका सहजताका लागि २०२८ सालबाट सञ्चालनमा ल्याईएको विमानस्थल ६ करोड ३४ लाख रुपैयाँ लगानीमा स्तरोन्नती गरिएको जनाईएको छ । अब विमानस्थल बाह्रै महिना सुरक्षित रुपमा प्रयोग गर्न सकिने प्राधिकरणका वरिष्ठ अधिकृत तथा आयोजना प्रमुख विनायक भट्टराईले बताउनुभयो । समुन्द्री सतहबाट १२ सय ३० मिटर उचाईमा रहेको लामिडाँडा मौसमका दृष्टिकोणबाट पनि सुरक्षित विमानस्थल रहेको प्राधिकरणको भनाइ छ । लामीडाँडाबाट काठमाण्डौं र बिराटनगर आवत–जावत हुँदै आएको थियो ।

यता जिल्लाका स्थानीय भने केही बर्ष अगाडीसम्म यात्रुको चाप रहने उक्त बिमानस्थल स्तरोन्नती भए पनि नियमित उडान तथा यात्रुको समस्या हुने बताउँछन् । सडकको पहुँच बढ्नका साथै नियमित उडान तथा भाडादरका कारण बिरामी तथा अशक्त बाहेकले उक्त बिमानस्थल र हवाईमार्ग नरोज्ने स्थानीय सुनाउँछन् ।

स्तरोन्नती गरिएको विमानस्थल उत्तिकै उपयोग गर्न सकिने सांसद बिशाल भट्टराईको भनाई छ । दुधकोशी हाईड्रोपावर जस्ता योजना, हलेसी लगायतका धार्मिक तथा पर्यटकीय स्थल लगायतका कारण पनि एअरपोर्टको उपयोगिता रहने सांसद भट्टराईले बताउनुभयो । उक्त विमानस्थल नियमित सञ्चालनको वातावरण बनाउन सबै जुट्नुपर्ने उहाँको धारणा छ । उहाँले हप्तामा दुई या तीन दिन पर्ने गरी छिट्टै नै नियमित उडानको पहल गर्ने सुनाउनुभयो । निजी क्षेत्रका वायुसेवा कम्पनी लुक्ला र जोमसोम मात्र नभई ग्रामिण भेगका नेपालीलाई पनि सेवा दिनुपर्नेमा प्रतिनिधिसभा सदस्य भट्टराईले जोड दिनुभयो ।

५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइ धावनमार्ग रहेको विमानस्थलमा ट्वीनटर जहाजहरु उडान तथा अवतरण गर्न सक्छन् । जिल्लामा लामीडाँडासँगै मनमायाँ राई खानीडाँडा र थामखर्क विमानस्थल कालोपत्रे गरिएको अवस्थामा छन् । थामखर्क विमानस्थल कालोपत्रेपछि गत माघदेखि सुचारु छन भने खानीडाँडामा पहिरोका कारण उडन अवरुद्द बनेको छ ।