कार्यालय प्रमुख नहुँदा सबै कामकाज ठप्प


किरन धामी, दार्चुला ।
भनिन्छ असार मसान्त यो सिजन भनेको योजनाहरुको काम सकी नसकी सम्पन्न गर्ने, भुक्तानी लिने, योजनाहरुको भौतिक तथा कार्यालयको वित्तिय प्रगती देखाउने, योजना फरफारक गर्ने तर दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नहुँदा विगत केही दिन देखी यी सबै काम ठप्प भएका छन् ।

गत माघ महिनाको अन्तिम साता तिर जिल्ला समन्वय समिति दार्चुलाका समन्वय अधिकारी कमलबहादुर थापालाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो ।

समन्वय अधिकारी थापाको गत वैशाख २५ गते प्रदेश नम्बर १ को मुख्यमन्त्रिको कार्यालयमा सरुवा भएपछि उनि गत जेठको ३२ गते मन्त्रालयले बोलाए पछि संघिय राजधानी काठमाण्डौं गएका छन् । माघको अन्तिम साताबाट नगरपालिकाको कामकाज हेरिरहेका समन्वय अधिकारी थापा सरुवा भएर गएको बुझिएको छ । समन्वय अधिकारी सरुवा भएर गएपछि नगरपालिकाको काम पुर्णतया ठप्प भएको छ ।

योजनाहरुको भुक्तानीका लागी दैनिक २०÷२५ जना आउने गरेको भएपनि कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन् । अहिले नगरपालिका निमित्तको भरमा चलेको छ । तल्लो तहका कर्मचारीलाई आर्थिक अख्तीयारी नहुँदा झनै समस्या भएको छ । संविधान तहः असार १० गते भित्र अगामी वर्षका लागी बजेट ल्याउनु पर्ने भए पनि कार्यालय प्रमुख नहुँदा नगरसभा समेत अन्योलमा पर्ने देखिएको छ । कामको चटारो हुने बेला कार्यालय प्रमुखको सरुवा गर्ने मन्त्रालयको नियत ठिक नभएको सेवाग्राहीहरुले आरोप लगाएका छन् ।

असार २० गते सर्सत अनुदान तथा २५ गते पुजिगत तर्फको खाता बन्द गर्नु पर्ने प्रावधान भए पनि १७ दिन मात्रै बाकी छदा कार्यालय प्रमुख नहुँदा सो कार्य समेत प्रभावित बनेको छ । योजनाहरुको भौतिक प्रगती भएको तथा योजनाको भुक्तानी नहुँदा सम्म वित्तिय प्रगती हासिल नहुने बताइएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरुले समेत कार्यालय प्रमुख नहुँदा जेठ महिनाको तलब पाएका छैनन् ।

नगरपालिकामा लेखा अधिकृत, लेखापाल र सहलेखापालको दरबन्दी भए पनि एक जना पनि छैनन् । नगरपालिकाका लेखा अधिकृत यज्ञराज लेखक प्रदेशमा समायोजन भएर सरुवा भए पछि अहिले कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट लेखा हेर्नेगरी दिपक भट्टलाई नगरपालिकाको जिम्मेवारी दिइएको छ । नगरपालिका भरी संचालनमा रहेको २ सय ३० वटा योजनाहरुको काम ८० प्रतिशत सम्पन्न भएको तथा भुक्तानीका लागि गर्नुपर्ने अनुगमन समेत कार्यालय प्रमुख अभावमा रोकिएको छ । योजनाहरुको ७० प्रतिशत रकम भुक्तानी गर्न बाकी रहेको नगरपालिकाले जनाएको छ ।