उपत्यकामा दिउँसै बँदेलको अवैध शिकार


(साङकेतिक तस्वीर)

नेपाल समाचारपत्र, ललितपुर ।
ललितपुरको गोदावरी वनमा दिउँसै गोली प्रहार गरी बँदेलको अवैध शिकार भएको छ । गोदावरी नगरपालिका–३ स्थित गोदावरी कुन्ड सामुदायिक वनमा भरुवा बन्दुक प्रहार गरेर बँदेल मारिएको हो ।

शिकारीको समुहले गत आइतवार कुन्ड भन्दा माथिल्लो भेगको १२ नम्बर पिकनिक स्पट नजिकै गोली प्रहार गरी ८० केजी हाराहारीको पोथी बँदेल मारेको हो । घटना लगत्तै खवर प्राप्त भएपनि शिकारी समुहलाई नियन्त्रणमा लिन नसकिएको महानगरिय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्यामकुमार कटुवालले बताउनुभयो ।

‘सिभिल ड्रेसमा खटिएको प्रहरी टोलीले पौने ४ बजे गोली चलेको खवर ग¥यो, लगत्तै हामी तालिम प्राप्त कुकुर सहित घटनास्थल पुग्यौ उहाँले भन्नुभयो–‘दुई व्यक्ति जंगलतर्फ भागे, नियन्त्रणमा लिन सकिएन ।’ बयस्क बँदेलको घाटीमा दुईवटा गोली लागेको र शिकारीले पेट चिरिएको अवस्थामा नियन्त्रणमा लिइएको कुटवालले बताउनुभयो ।

मृत्त बँदेलको जिउमा गोलीको छर्रा भेटिएकाले शिकारीले भरुवा बन्दुक प्रयोग गरेको र शिकारी समुह यसअघि पनि यस्तो गतिविधीमा संलग्न रहेको प्रहरीको ठहर छ । मृत्त बँदेललाई उद्धार तथा व्यवस्थापन गरी डिभिजन वन कार्यालय ललितपुर कार्यालय परिसरमा गाडिएको सो कार्यालयका सहायक वन अधिकृत थिरप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

सोमबार बँदेललाई जावलाखेलको भेटेनेरी अस्पतालमा पोस्ट माटम र अन्य कागजी प्रकृया पुरा गरी वन कार्यालय परिसरमा गाडिएको उहाँले बताउनुभयो । गत शुक्रवार ललितपुरको लामाटारमा पनि बँदेलको बच्चा मृत्त अवस्थामा फेला परेको बताउँदै कोइरालाले भन्नुभयो–‘एक साता भित्रैमा दुईवटा मरेका बँदेल भेटिए, महंगो मूल्यमा बँदेलको मासु विक्ने भएकाले यस्ता घटना बढिरहेका छन् ।’