प्रधानमन्त्री रोजगार कार्यक्रम, २ सय ३ जनालाई रोजगारी


हिक्मत नेपाली, दैलेख ।
दैलेखको नारायण नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्तर्गत पहिलो चरणमा ११ वटै वडाबाट २ सय ३ बेरोजगार युवाले रोजगारी पाएका छन् । नगरपालिकामा ४६ सय बढी बेरोजगारको फर्म आएको मध्ये पहिलो चरणमा २ सय ३ जनाले रोजगारी पाएका हुन् । रोजगारी पाएका युवाले विभिन्न योजनामा काम गर्ने नगरपालिकाले जनाएको छ । रोजगार कार्यक्रम अन्तर्गत रोजगारी पाएका व्यक्तिलाई नगरपालिकाले आवश्यक पोषाक, औजार तथा सुरक्षित सामग्री उपलब्ध गराइएको छ । नगरपालिकाले कामको विवरण अनुसार अनुगमन, मूल्याङ्कन गरेर पारिश्रमिक भुक्तानी गर्ने जनाएको छ ।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्माले सरकारले लिएको विकास र समृद्धिको लक्ष्य पूरा गर्ने अभियानमा बेरोजगार युवा युवतीहरु लाग्नुपर्ने सुझाव दिनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम वर्तमान सरकारको लोकप्रिय कार्यक्रम भएकोले अब धेरै युवाहरु विदेशीनु पर्ने अवस्था नआउने सांसद शर्माको भनाई छ ।

‘बेरोजगारीले गरिबी बढ्दै गएको र जीविकोपार्जनका खाडी मुलुकमा मजदुरीका लागि जानुपर्ने अवस्था अन्त्य गर्न कार्यक्रमले सहयोग पु¥याउने नगरप्रमुख रत्न बहादुर खड्काले बताउनुभयो । उहाँले आन्तरिक रोजगारीलाई प्रबद्र्धन गर्न कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

नारायण नगरपालिकाका उप–प्रमुख सावित्री मल्लले अतिविपन्न, दलित, जनजाती र तीन महिनासम्म खान नपुग्ने परिवारको खोजी गरेर काम लगाउने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दैलेखको नारायण नगरपालिकाले रोजगारी दिएका युवाहरु ।